गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा आमाको घर निर्माण हुने भएको छ । गाउँमै सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउने उदेश्यले आमाघरको निर्माण गर्न लागिएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।
‘हामीले सबै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर निर्माण गरिसकेका छौं,’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने, ‘प्रसुती सेवालाई थप प्रभावकारी र सुबिधा सम्पन्न बनाउने आमा घरको कन्सेप्ट अघि सारेका हौं । मलाई लाग्छ यो नेपालकै नयाँ काम हो ।’
सुत्केरी व्यथा लाग्नु २ दिन अघि नै महिलाहरुलाई आमाको घरमा राखिने छ । बच्चा जन्माएको करिब सात दिनसम्म पनि राख्ने व्यवस्था मिलाईने उनले बताए । ‘४ कोठको भवन बन्छ, त्यसको भित्रै हामी भान्छा निर्माण गरिदिन्छौं । परिवारको एक सदस्यले आएर खाना बनाएर खुवाउन सक्नु हुन्छ,’ स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले भने, ‘भित्र नै बाथरुम सहितको शौचालय निर्माण गरिने हुँदा सरसफाईमा पनि उहाँहरुलाई सजिलो हुन्छ ।’

बर्थिङ सेन्टर नजिक सहरबजारमा जस्तो होटल रेस्टुरेन्ट नहुँदा टाढाटाढाबाट आएका सुत्केरीलाई खानबस्नको समस्या हुने गरेको छ । जसका कारण बच्चा जन्माएको केही बेरमा घर जानुपर्ने बाध्यता हुन्छ । ‘आमा घर निर्माणसँगै सुत्केरी महिलाहरुले त्यहाँ बसेर आराम गरी आफ्नो स्वास्थ्य राम्रो भएपछि मात्र घर जान सक्नुहुन्छ,’ उनले भने, ‘त्यो विचमा आमा र वच्चाको सबै चेकजाँच पनि हुने हुँदा उहाँहरुको स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
करिब ८ लाख लागतमा बन्ने आमाको घर निर्माणको लागि ३० प्रतिशत रकम भने स्थानीय आफैले जुटाएका छन् । ९७० घर धुरी रहेको त्यहाँ प्रतिघर ३५० का दरले ३ लाख रकम संकलन गरिएको छ । बाँकी रकम गाउँपालिकाले उपलब्ध गराउने छ । ‘यहाँ हामीले नमूना अभ्यास पनि गरेका छौ. । स्थानीय आफै लगानी गर्न उत्साहित हुनु भएको छ,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘उहाँहरुको उत्साहलाई सम्मान गर्दै साझेदारीमा ७० प्रतिशत रकम हामीले उपलब्ध गराएका हौं ।’
बक्राङ घर भइ देश विदेशमा बस्ने र गाउँका स्थानीयहरुले समेत गरी थप ३ लाख रकम पनि जुटाइएको छ । उक्त रकम भने आमाघर व्यवस्थापनमा खर्च गर्ने स्थानीयले योजना बनाएका छन् । ४ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आमाको घरमा एक साथ सात जना सम्म सुत्केरी राख्न सकिन्छ । बक्राङ स्वास्थ्य चौकीमा रहेका तालिम प्राप्त स्वास्थकर्मीहरुले प्रसुती गराउने व्यवस्था मिलाइएको छ ।
जटिल किसिमको समस्या आए मात्र बाहिर रिफर गरिनेछ । शहिद लखन गाउँपालिकाले घुम्ती टोली मार्फत गर्भवती महिलाको अल्ट्रासाउण्ट सेवा समेत सञ्चालन गरिरहेको छ । गर्भवती भएपछि चार पटक सम्म परिक्षण गराउनेहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप ५ हजार रुपैया समेत प्रदान गरिरहेकाको शहिद लखन गाउँपालिकाले जनाएको छ । शनिबार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष थापाले आमाको घरको शिलन्यास गरेका हुन् ।
कार्यक्रममा नेकपा सहिद लखन गाउँपालिका अध्यक्ष मनोज जोशी, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपाने, शहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, सामुदायिक बन महासँघका भीम बहादुर आले, टोल संयोजक बेलबहादुर थापा लगायतले आमाघरका बारेमा चर्चा गरेका थिए ।