काठमाडौँ — भुक्तानीको माग गर्दै काठमाडौं उपत्यकामा आएर आइतबारदेखि आन्दोलनरत उखु किसान चिसोले बिरामी पर्न थालेका छन् । किसानले काठमाडौं आएर आइतबार आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गर्यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् ।
संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ तर कार्यान्वयन कहिले हुने निश्चित छैन । यता आन्दोलनरत किसान भने चिसोले बिरामी पर्न थालेका छन् ।
संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायका अनुसार माइतीघर मण्डलमा आन्दोलनरत तीन जना चिसोका कारण बिरामी भएका छन् । उखु किसानहरू संघीय राजधानी आएर दबाब दिएपिच्छे सम्बन्धित उद्योगीलाई कारबाही गर्ने र भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएर सरकारले घर फर्काउने गरेको छ । उनीहरू फर्किएपछि भने प्रतिबद्धता कार्यान्वयनका लागि पहल गरिँदैन ।
संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै उखु किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । संसदीय समितिले गत वर्ष पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।