गोरखा । भिमसेन थापा गाउँपालिकाको तान्द्राङका ३८ संकटासन्न परिवारका घर पुर्ननिर्माण सम्पन्न भएको छ । बिभिन्न कारणले घर पुर्ननिर्माणको काम अलपत्र भएका परिवारलाई घर निर्माण सम्पन्न गर्न श्री स्वाँरा सघन गाउँ विकास सेवा केन्द्रले सघाएको थियो ।
सिआरएसको सहयोगमा सञ्चालित गोरखा पुर्ननिर्माण तथा पुर्नउत्थान परियोजना अन्तरगत केन्द्रले भिमसेन थापा वडा नम्बर २ र ३ का ३८ परिवारलाई घर पुर्ननिर्माणमा आवस्यकता अनुसार सहयोग गरेको जनाएको छ । जसमा महिला घर मुली रहेको, अपांगता भएका ब्यक्ति भएको, बृद्धबृद्धा भएकाको लगायत गरी ३८ परिवारको घर पुर्ननिर्माणमा सहयोग गरिएको केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।
२०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त भई पुर्ननिर्माण गर्न असहज भएकाहरुलाई उनिहरुको आवस्यकता हेरेर घरदैलो प्राविधिक सहयोग, निर्माण सामाग्री, कामदार तथा ढुवानी लगायतका क्षेत्रमा सहयोग गरिएको उनले बताए ।
जसमा ७ लाख ९६ हजार ८ सय ९५ रुपैया खर्च भएको बताइएको छ । त्यस्तै सोही वडामा केन्द्रले २० जना किसानलाई अलैची खेती सम्बन्धी तालिम समेत दिएको छ । बिभिन्न कृषि समुहमा आवद्ध रहेका किसानलाई अलैची टिपाई, भण्डारण, पुर्नताजगी, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा तालिम दिइएको हो । त्यस्तै केन्द्रकै सहयोगमा तान्द्राङमै अलैची सुकाउने भट्टी समेत निर्माण गरिएको श्रेष्ठले बताए ।
परियोजना अन्तरगत सहयोग गरिएका संकटासन्न परिवारका घर पुर्ननिर्माण तथा अलैची सम्बन्धीका गतिविधीको दायित्व र जिम्मेवारी केन्द्रले मंगलबार एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
परियोजनाको अवधी सकिन लागेको भन्दै स्वाँरा सघनले गाउँपालिकालाई आगामी जिम्मेवारी हस्तान्तरण गरेको बताएको छ । गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिआरएस गोरखाका प्रमुख रामहरी देवकोटाले परियोजनाका बारे सहभागीलाई जानकारी गराएका थिए ।
त्यस्तै स्वाँरा सघनकी कार्यक्रम ब्यवस्थापक सञ्जिता श्रेष्ठले परियोजना संचालनका क्रममा भएका सम्पूर्ण गतिविधी, खर्चको विवरण, उपलब्धी, चुनौती लगायतका बारे प्रस्तुतीकरण गरेकी थिइन । कार्यक्रमको सभापन गाउँपालिका उपाध्यक्ष विनु वाग्लेले गरेको थिइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, वडाध्यक्षहरु, कर्मचारी, लाभग्राही लगायतको उपस्थिती रहेको स्वाँरा सघनका रविन कट्टेलले जानकारी दिए ।