गोरखा । बारपाकमा बुद्ध पार्क निर्माण गरिएको छ । पर्यटकलाई आर्कषित गर्ने उदेश्यले बारपाक सुलिकोट १ ताक्लेनान् डाँडामा मनोरम बुद्ध पार्क निर्माण गरिएको हो । गाउँपालिकाको ४० लाख र वडा नम्बरको १ ले छुट्याएको ५ लाख गरी कुल ४५ लाख लागतमा पार्क निर्माण गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।
‘बारपाक आफैमा मनोरम ठाउँ हो । त्यसमा पनि यो पार्कले यहाँको सुन्दरता थपेको छ,’ सोमबार पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘अब झनै पार्कमा बसेर सिंगो बारपाकलाई नियाल्न सकिन्छ । घुम्न आउनेहरु यहाँ बसेर आनन्द लिन सक्नुहुनेछ ।’
बारपाक सुलिकोट गाउँपालिकाले पर्यटनलाई समेत आफ्ना प्राथमिकतामा राखेको भन्दै उनले भूकम्पको केन्द्रबिन्दु बारपाकलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने बताए । त्यसको लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा विभिन्न योजनाहरु बनाइएको अध्यक्ष भट्टको भनाई छ ।
पार्क भित्र ५ फिट अग्लो बुद्धको मूर्ति सहित केही मानेहरु राखिएको छ । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाक निर्माण गरिएको पार्कले त्यहाँको धर्म संस्कृती र पहिचान समेत स्थापित गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाकमा भुकम्प स्मृती पार्क पनि निर्माण भइरहेको छ ।

भूकम्प स्मृती लाइभ म्युजियम बनाउने भनिएपनि स्थानीय जमिन नदिएपछि स्थगित भएको छ । गुरुङ र घलेहरुको गुजुमुज्ज परेको मनोरम बस्ती बारपाक गाउँ भूकम्प अघि देखि नै चर्चित थियो । २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पको केन्द्रबिन्दु समेत त्यहीँ परेपछिे झनै यसको चर्चा विश्वभर चुलिएको छ । बारपाकसम्म पुग्ने पक्की सडक निर्माण सुरु भएको लामो समय भइसक्दा समेत सम्पन्न नहुँदा सोचे जति पर्यटक बारपाक पुग्न सकेका छैनन् ।