गोरखा । गोरखा नगरपालिका १० छेवटारमा निर्माणाधिन फुटबल मैदानमा प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा र गोरखा नगरपालिकाको सयुक्त लगानीमा गण्डकी प्रदेश स्तरिय महिला फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो । ‘ एन्फाले गोरखामा गण्डकी प्रदेश स्तरिय प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । यो हाम्रा लागि खुसिको कुरा हो ।’ एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने, ‘यसले गोरखाको फुटबल बिकासमा ठूलो मद्धत गर्छ ।
अबसरको खोजीमा रहनु भएका महिला खेलाडीहरुका लागि यो राम्रो अबसर हो ।’ यो कार्यक्रमले जिल्लामा एउटा सुबिधा सम्पन्न खेलमैदान र अन्य पुर्वाधार तयार गर्ने भएकाले यसले समग्र खेल क्षेत्रको बिकास पनि योगदान गर्ने उनको विश्वास छ ।
स्थानिय सरकारसँगको साझेदारीमा एन्फाले पहिलो चरणमा ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्रको निर्माण गर्न लागेको हो । त्यहाँ गोरखासँगै गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिला फुटबल खेलाडीहरुलाई बन्द प्रशिक्षण गराइनेछ ।
बिहीबार बसेको एन्फाको बैठकले गोरखा सहित इलाम, धनुषा, कैलाली, वाँके, मकवानपुर, वर्दिया, नुवाकोट, उदयपुर, सिन्धुपाल्चोक र झापामा फुटबल प्रशिक्षण केन्द निर्माण गर्ने निर्णय गरेको थियो । उक्त कार्यका लागि एन्फाले हरेक जिल्लका लागि जनही ५०/५० हजार अमेरिकी डलर रकम दिने घोषणा गरेको छ ।
‘यो झण्डै ६० लाख नेपाली रुपैयाँ हुन आउँछ । यत्ति नै रकम संम्बन्धित स्थानीय तहले पनि लगानी गर्नु पर्ने प्रावधान छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो मैदान निर्माणमा यस अघि नै गोरखा नगरपालिकाले ६० लाख बजेट खर्च गरिसकेको छ । यो वर्ष पनि २० लाख छुट्याएको छ ।’ उक्त रकमले खेलाडी र प्रशिक्षकका लागि आवास, चेन्जीङ रुम र शौचालयमा निर्माण गरिसकिएको छ ।
एन्फाले उपलब्ध गराएको ५० हजार डलर र गोरखा नगरपालिकाले यस वर्ष छुट्याएको २० लाखले भने पौडी पोखरी, जिम हल, फुटसल मैदान, प्रशिक्षण मैदान निर्माण, मैदानलाई घेराबार, स्तरोउन्नती लगायतका काममा खर्च गर्न योजना छ ।