• सोमबार, साउन १८ २०८३

सबै धर्म, संस्कृती र भाषाको जगेर्ना अभियानमा छौ : मेयर पन्त


शनिबार, मंसिर २७ २०७७
1.5K
Shares

गोरखा । सबै धर्म र संस्कृतीको जगेर्नामा गोरखा नगरपालिका लागेको नगरप्रमुख राजनराज पन्तले बताएका छन् । गोरखा नगरपालिका ४ को मदरसा सेराजुल उलुममा शुक्रबार भएको हाफिज दिक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले नगरक्षेत्रका बासिन्दाले मानिआएका धर्म, संस्कृती र भाषा जोगाउने अभियानमा आफु रहेको बताएका हुन ।

‘हाम्रो गोरखा नगर बहुधार्मिक, बहुजाती, बहुभाषी र बहुसंस्कृती भएको नगर हो, संख्याको तुलनामा कोही अलि बढी होलान, कोही अलि कम होलान’ पन्तले भने ‘तर हामी सबैलाई समान ब्यवहारका साथ हरेकको संस्कृती रक्षा र उत्थानका लागि लागिपरेका छौ’

हिजोका दिनमा राज्य सत्ताले पछाडी पारेका धर्म, जाती र समुहलाई आगाडी ल्याउन बिभिन्न कार्यक्रमहरु कार्यान्वयनका चरणमा रहेको समेत मेयर पन्तले बताए ।

‘मुस्लिम लगायत बिभिन्न धर्म र जातजातीलाई हिजोका दिनमा राज्यबाटै पछाडी पछाडी पारिएको थियो, आज हामी उनिहरुलाई अगाडी ल्याउन खोजिरहेका छौ’ उनले थपे ‘गोरखा नगरपालिकाले थालेको यो अभियानमा सबैको साथ र सहयोगको खाँचो छ ।’

त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य नहुँदा विकास प्रभावित बनेको समेत बताए । स्थानीय तहसंग समन्वय नगरी प्रदेश सरकारले मनोमानी ढंगबाट बजेट र कार्यक्रम छनौट गरिदा डुब्लिकेशनको ब्यापक समस्या आएको उनको तर्क छ । आवस्यकताको आधारमा योजना छनोट गर्नुपर्ने बताउदै मेयर पन्तले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताए ।

मदरसा सेराजुल अलुमका अध्यक्ष जोहोर दिन मियाँको अध्यक्षतामा भएको हाफिज दिक्षान्त कार्यक्रममा गोरखा नगरपालिका ४ का वडाध्यक्ष खोपबहादुर अधिकारीले सदियौदेखि कायम रहेको मुस्लिम गैरमुस्लिमबिचको सद्भाव र भाइचारा अझ प्रगाढ बढाउनुपर्नेमा जोड दिए । धार्मिक स्थलहरुको विकास र स्तरोन्नतीका लागि गोरखा नगर र वडा कार्यालय तत्पर रहेको समेत उनले बताएका थिए ।

सोही मदरसामा अध्ययनरत मोहम्मद आशिफ मियाँ र अब्दुल कादिरले कुरआनको पूर्ण कन्ठस्थ गर्दै हाफिज कोर्स पूरा गरी शुक्रबार दिक्षित भएका छन् । उनिहरुले १४ बर्ष कै उमेरमा हाफिज कोर्स पूरा गरेका हुन । इस्लाम धर्ममा धर्मग्रन्ध कुरआन सहि रुपमा कन्ठस्थ गर्नेलाई हाफिजको उपाधी दिइने गरिन्छ । २०५६ सालमा स्थापना भएकाे यस मदरसाबाट हालसम्म ४१ जना हाफिज भइसकेकाे प्रअ हाफिज जलाल दिन मियाँले बताए ।

यस मदरसामा बिहानी सत्रमा ८५ र हाेस्टेलमा बसेर ३२ जना बिधार्थीले अध्ययन गर्दै आएकाे प्रअ मियाँले बताए ।

कार्यक्रममा नवदुर्गा आधारभुत विद्यालयका प्रअ अब्दुल करिम मियाँ, शिक्षक मोहम्मददिन मियाँ, डेरागाउँ मुस्लिम समाज कतारका प्रतिनिधी हिक्मत मियाँ, मदरसाका प्रअ हाफिज जलाल दिन मियाँ लगायतले मन्तब्य राखेको स्थानीय सम्शुल हक मियाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार