गोरखा । कोरोना भाइरसका कारण धार्मिक स्थलहरुमा लगाइएको बन्देज शुक्रबारबाट हटाउने कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।
गत बर्षको चैतको पहिलो हप्ताबाट धार्मिक स्थलहरुमा लगाइएको बन्देज करिब ९ महिनापछि फुकुवा गरिएको हो ।
कोरोना भाइरसको जोखिम हसने भन्दै सरकारले गत चैतको पहिलो साताबाट धार्मिक स्थलहरुसंगै पार्क लगायत सर्वसाधारणको जमघट हुने स्थानहरुमा प्रवेश रोक लगाएको थियो ।
तर आज बिहिबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले भोली शुक्रबारबाट जिल्लाका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरु खोल्ने निर्णय गरेको हो ।
यो निर्णय सँगै गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली, गोरखनाथ मन्दिर, मनकामना मन्दिर, बिभिन्न ठाउँका मस्जिद, गुम्बा, चर्च शुक्रबार बाटै खुल्ने भएका छन।
