काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एक गरी थप तिन सक्रमितको मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनमा २३ मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा बुधबार बेलुका मृत्यु भएको हो ।
उनलाई भने कोरोना पोजेटिभ देखिएपछि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो ।
अक्सिजनको मात्र कम भएका वृद्धलाई नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोसी कोभिडमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको आफन्तले बताए । वृद्धलाई मधुमेह, उच्च रक्तपाचको समस्या थियो ।
मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।