• सोमबार, साउन १८ २०८३

संवैधानिक निकायहरुमा हुने राजनैतिक भागवण्डाले भ्रष्ट्रचार बढायाे


बुधबार, मंसिर २४ २०७७
810
Shares

गोरखा । राज्यका संवैधानिक निकायहरुमा राजनैतिक भागवण्डा हुने प्रथाका कारण भ्रष्ट्राचार बढेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा सोच नेपाल र नागरिक साझा सवाल गोरखाको संयुक्त आयोजनामा सदरमुकाममा भएको कार्यक्रमका सहभागीहरुले राजनैनिक भागवण्डाका कारण भ्रष्ट्राचारले प्रश्रय पाएको बताएका हुन ।

दिवशका अवसरमा भ्रष्ट्रचार न्यूनिकरणमा नागरिक समाज र सञ्चार माध्यमको भुमिका बिषयक छलफल कार्यक्रममा सहभागी भएका गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ‘हरेक संवैधानिक निकायमा राजनैतिक नियुक्ति हुन्छ, अनि त्याहा पदमा बसेका अधिकारप्राप्त ब्यक्तिबाट कसरी निष्पक्ष काम हुन सक्छ ?’ प्रतिप्रश्न गर्दै पन्तले भने ‘जो भ्रष्ट्राचार नियन्त्रण गर्ने निकायमा बस्छ, उसैबाट त्यो कार्यको मलजल हुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख पन्तले संघ, प्रदेश र स्थानीय तहवीच टकराव गराउने खालको नीति र कानूनले गर्दा काम गर्न अफ्टेरो भएको समेत बताएका छन् । बनेका कानूनको समेत सहि कार्यान्वयन नहुँदा भ्रष्ट्राचार बढेको भन्दै उनले राज्यका हरेक निकायले सुशासन प्रवद्र्धनका औजारहरुको प्रयोगलाई ब्यापकता दिनुपर्नेमा जोड दिए । ‘अब सबैले भ्रष्ट्राचार गरे भनेर चुप बस्न मिल्ने अवस्था छैन, जो जहाँ जुन निकायमा छ त्याहीबाट यसको रोकथामका लागि पहलकदमी लिन जरुरी छ’ पन्तले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बेरुजु रकमलाई भ्रष्ट्राचार भन्न नमिल्ने बताएका छन । समाजमा रहेका हरेक समस्या र बेतिथीका सवालमा नागरिक समाज र सञ्चार माध्यमले सिठी फुक्ने काम गर्न जरुरी रहेको उनले बताए ।

‘सबै क्षेत्रमा हाम्रो दृष्टी र निगरानी नपुग्न सक्छ, त्यसमा सिभिल सोसाइटी र मिडियाले सिठी फुक्ने काम गरिदिनुप¥यो, हामीलाई सूचना दिनुप¥यो’ प्रजिअ भट्टराईले थपे ‘एक जनाले चाहेर सुशासन कायम हुदैन, यसमा सबैले इमान्दार भएर लागे टाढाको कुरा पनि होइन ।’ उनले जिल्लाका सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुले सुचना दिन आनाकानी गरे तत्काल आफुलाई खबर गर्न समेत आह्वान गरेका छन ।

नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापाले सरकारी र गैरसरकारी क्षेत्रमा मात्रै नभई ठूला सञ्चार गृहहरुले समेत भ्रष्ट्राचारलाई मलजल गरिरहेको तर्क गरे । विज्ञापन प्रकाशनका नाममा ठूला मिडिया हाउसले कमिसनको खेल चलाउदा बिचौलियाहरुबिच चलखेल बढेको उनको भनाई छ ।

त्यस्तै प्यव्सन गोरखाका अध्यक्ष सिताराम तिवारीले सरकारका नीति र कानूनले नै भ्रष्ट्राचारलाई प्रश्रय दिएको बताए । मुहान नै धमिलो भएपछि चुहान यसैपनि धमिलो हुने तर्क गर्दै मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारीले नीति नियममै संगै विधी र प्रकृयामा सुधार ल्याउन जरुरी रहेको बताए ।

सार्वजानिक सेवा प्रवाहका क्रममै ब्यापक भ्रष्ट्राचार रहेको तर्क गर्दै पत्रकार किरण लोहनीले अरु सुध्रिएनन भनेर आफु विग्रन नहुने बताउदै सुशासन आफुबाटै सुरु गर्नुपर्ने बताए । न्याय खोज्न न्यायालयमा पुग्दा समेत पिडित पक्षले घुस दिनुपर्ने बाध्यता कायम रहेको महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सावित्री भट्टले बताएकी छिन ।

अनियमितता गर्नेले सबै प्रकृया र कागजात मिलाएर गर्ने भएकाले भ्रष्ट्रचार बढी हुने ठाँउमा बेरुजु कम हुने गैसस महासंघ गोरखाका सचिव हरी देवकोटाले बताए । कानूनी शासनले मात्रै वेतिथी र कुशासन नियन्त्रणमा नआउने तर्क गर्दै नेपाल बार एशोसियसन गोरखाका अध्यक्ष यादव शर्माले नागरिक सचेत नभएसम्म भ्रष्ट्राचार कम नहुने ठोकुवा गरे ।

नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाका कोषाध्यक्ष रामशरण आचार्यले शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवस्यकता सर्वसुलभ नभएसम्म राज्यका हरेक निकायमा आर्थिक अनियमितता र घोटालाहरुको जग नभत्किने तर्क गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले सञ्चार माध्यमको काम खबरदारी गर्ने मात्रै रहेको बताउदै प्रविधीको विकाससंगै भ्रष्ट्राचार र घुस लिने तौरतरिका र शैली समेत फेरिएको बताए । भ्रष्ट्राचार नियन्त्रणमा सुशासन पूर्व सर्त रहेको बताउदै एनजिओकर्मी कमला लामिछानेले अरु होइन आफुबाट यसको रोकथाममा संकल्प जरुरी रहेको बताइन ।

कार्यक्रमकै अवसरमा सोच नेपालले प्रकाशन गरेको भ्रष्ट्राचार निवारणमा नागरिक सहभागिता नामक हाते पुस्तक समेत सार्वजानिक गरिएको जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले जानकारी दिए । सोच नेपालले गोरखामा सुशासन प्रवद्र्धनका लागि केहि बर्षदेखि पारस्परिक जवाफदेहिता स्थानीय अभियान अन्तरगत बिभिन्न कार्यक्रम र बहस समेत चलाउदै आएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार