गोरखा । अभिभावक बिहिन भएपछि एक्लो जिवन बिताइरेहका १० वर्षीष एक बालकको उद्धार भएको छ । बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराको ठोट्नेरीका राजेश गुरुङलाई उनकी शिक्षिक सलिना गुरुङको पहलमा सदरमुकामको बालमन्दिर मावि ल्याइएको हो । उनलाई त्यहाँ रहेको अनाथालयमा राखिएको छ ।
‘१० वर्षको बालक आफै पकाएर खानुपर्ने, घरमा एक्लै बस्नु पर्ने अबस्था थियो,’ शिक्षिक गुरुङले भनिन्, ‘अहिलेसम्म अरुले जे दिन्छन त्यही खाएर बसेको थियो । यसरी भएन भनेर हामीले यहाँ ल्याएका हौं ।’ बाबु समेत पहिचान नभएका राजेशको आमा समेत बिहे गरी अन्यत्र गएपछि उनी घरमा एक्लै भएका थिए ।
सुरुमा हजुर आमाको साहरामा बस्दै आएका राजेश उनको समेत मृत्यु भएपछि परिवार बिहिन भएका थिए । बिगत ८ महिना यता गाउँले र आफन्तले दिएको सहयोगले उनले गुजारा चलाउँदै आएका थिए । अब भने उनी अभिभावक बिहिन बालबालिकाहरुलाई आश्रय दिइरहेको बालमन्दिर माविको अनाथालयमा बस्न पाउने भएका छन् ।
शिक्षिक गुरुङले आइतबार उनलाई उद्धार गरी अनाथालयमा ल्याएकी हुन । सो अबसरमा शिक्षिका गुरुङ्गले अनाथालय सञ्चालनका लागि बालमन्दिर माध्यामिक विद्यालयका प्रअ लुमनाथ लामिछानेलाई १० हजार रुपैयाँ सहयोग समेत गरेकी छिन् ।