गोरखा । शनिबार गोरखा अस्पतालमा भएको घटनाको छानविन गर्न समिति बनाइएको छ । अस्पतालमै सुत्केरी भएकी महिलाका आफन्त र चिकित्सक बिच भएको भनिएको घटनाका सम्बन्धमा छानविन गर्न समितिका सदस्य भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यिय समिति निर्माण गरिएको हो ।
‘घटना घट्नु हुदैन थियो, तर अब घटिनै सक्यो यसलाई लिएर अस्पतालको अरु सेवा प्रभावित हुनु हुदैन भन्ने बिषयमा हामी गम्भिर छौ’ ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले भने ‘वादविवाद र त्यसपछि भएको दुब्र्यबहारको बिषयमाथी अब छानविन हुन्छ, भाइचन्द्रजीको संयोकत्वमा समिति बनेको छ, एक हप्तामा उहाँहरुले हामीलाई प्रतिवेदन दिनुहुन्छ ।’
श्रेष्ठको संयोजकत्वमा बनेको पाँच सदस्यिय छानविन समितिमा जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ, नेपाल बार एशासियसन र मानवअधिकार सञ्जाल गोरखाका प्रतिनिधी सदस्य रहने उनले बताए । समितिले घटनाको छानविन गरी सात दिनभित्र अस्पताल ब्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने बताइएको छ ।
यता चिकित्सकलाई दुब्र्यब्यहार भएको भन्दै गोरखा अस्पतालका स्वास्थ्यकर्मीद्धारा आकस्मिक बाहेकका सेवा ठप्प बनाएका छन् । शनिबार दिउँसो एक समुहबाट चिकित्सकलाई दुब्र्यब्यहार भएको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् ।
आइतबार अस्पताल विकास समिति कर्मचारी युनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग समेत गरेको छ । अस्पताल हाताभित्रै चिकित्सकलाई दुब्र्यवहार भएको घटनाले आफुहरुको मनोवल गिरेको र सुरक्षाको समेत प्रत्याभुत नभएकाले आकस्मिक बाहेकका अरु सेवा बन्द गरेर आन्दोलनमा उत्रनु परेको युनियनका जिल्ला अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।
यता सुत्केरी महिलाका श्रीमान देवेन्द्रजंग कुवँरले समेत चिकित्सकबाट आफुलाई दुब्र्यवहार भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न अस्पताल ब्यवस्थापन समितिमा निवेदन दिएका छन । केहि समयअघि सुत्केरी भएकी श्रीमती शौचालयमा लडेको खबर सुनेर भित्र जान खोज्दा ड्युटीमा खटिएका चिकित्सकबाट आफुलाई अभद्र ब्यवहार भएको उनको भनाई छ ।
‘बुडी बाथरुममा लडेको सुनेपछि भित्र जान खोजेको हो, एक्कासी डाक्टरले घरीघरी यताउता गरेर डिस्टर्ब नगर, कस्ता कस्ता मान्छे आउछन् छ्या भन्नुभयो’ कुवँरले भने ‘मैले भित्र जान पाइदैन भने भन्नूस म जान्न तर यसरी होच्याएर भन्ने होइन मात्र भनेको थिएँ, तेरो बिरामी तुरुन्त लैजा भनेर डिस्चार्ज पेपर लेख्नुभयो, यो कहाँको नियम हो, आवेशमा आएर बिरामीको स्वास्थ्यमाथी खेलवाड गर्न पाइन्छ ?’