गोरखा । के तपाइँको घर भूकम्पले भत्किएको छ ? लाभग्राही सूचीमा नाम पनि छ ? तर अहिलेसम्म घर बनाउनका लागि अनुदान सम्झौता गर्नु भएको छैन भने, अब ढिला नगर्नुहोस्, समय सिमा सकिन केही दिन मात्र बाँकी छ ।
अनुदान सम्झौताका लागि राष्ट्रिय पुर्ननिमा प्राधिकरणले पछिल्लो पटक कायम गरेको समयसिमा मंसिर मसान्तमा सकिदै छ । हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
‘यो अन्तिम हो अब समयसिमा थपिदैन, त्यसैले अनुदान सम्झौता नगरेकाले गर्नुहोला । गरेर पहिलो किस्ता लगेकाहरुले घर बनाउन सुरु गरी दोश्रो किस्ताका लागि माग गर्नु हुन म सबैलाई अनुरोध गर्दछु,’ जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आर्चायले भने ।
त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।
सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।
जिमाली गोरखाले केही समय अघि उपलब्ध गराएको तथ्याङ्क अनुसार गोरखामा ८८ प्रतिशत घर पुर्ननिर्माण भएको देखिन्छ । केन्द्रबिन्दु जिल्ला गोरखामा हालसम्म ५८ हजार ९६९ भूकम्प पिडितले घर बनाएर तेश्रो किस्ता बुझेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको तथ्याङ्क छ ।
प्रवलीकरण शीर्षकमा परेका ५ हजार ६८६ मध्ये ४ हजार ६०७ जनाले मात्र पहिलो किस्ता लिएका छन् । ती मध्ये १ हजार ७९ जनाले भने अहिलेसम्म पहिलो किस्ता समेत लिएका छैनन् । रेक्ट्रोफिटिङको पहिलो किस्ता बुझेका अधिकाशं पुर्ण लाभग्राही हुनु पर्ने भन्दै दोश्रो किस्ता लिन आनकानी गरिरहेका छन् । पूर्ण लाभग्राही हुन पाउँ भनी प्रक्रियामा गएका उनीहरुको प्राधिकरणले अहिलेसम्म निर्णय नगरिदिदाँ समस्या भएको हो ।