स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप समितिका संयोजक डा. श्यामराज उप्रेतीको अबको पाँच महिनाभित्र नेपालले कोभ्याक्स सुबिधाबाट खोप पाउन सक्ने विश्वास व्यक्त गरे।
‘अहिलेसम्म तीनवटा कम्पनीले उनीहरुले बनाएका खोप प्रभावकारी देखिएको दाबी गरेका छन्, उप्रेतीले भने, ‘उनीहरुले आफ्नो देश र डब्लूएचओबाट मान्यता पाउन केही समय लाग्छ। सम्पूर्ण प्रक्रिया सकेर नेपालसम्म २०२१ को पहिलो चौमासिकसम्म आइपुग्ने आशा गरेका छौं।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स सुविधा निर्माण गरेका हुन्। कोरोनाभाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशको समान पहुँच होस् भन्ने उद्देश्यसहित सो संयन्त्र गठन गरिएको ती संस्थाहरुले जनाएका छन्।
तर कोभ्याक्सबाहेक आफैँले किन्नुपर्ने खोप कहिले पाउने केही निश्चित छैन। बुकिङ समेत नगरेकाले मन्त्रालयले नेपालमा कहिले खोप आउँछ भन्न नसकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता गौतम खोप कहिले उपलब्ध हुन्छ ठ्याक्कै भन्न नसकिने बताए।