हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।
सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको बिष्टले बताए। जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ।
दुर्घटनामा ज्यान गुमाउने चार जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक बालकसहित सात जना घाइते भएका छन्।
घाइते सात जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरु सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले बिरामी र घाइतेको उद्धार गरेका छन्।