मोहसिन अलि मियाँ
गोरखा । गत बैशाखमा डेरा नजिकैको पाखोमा निउरो टिप्न गएकी बालिका बलत्कारमा परेको रहस्य झण्डै ७ महिनापछि खुलेको छ । परिबार सहित डेरामा बस्दै आएकी १४ वर्षीय बालिका गर्भवती भएपछि उक्त घटना अहिले बाहिर आएको हो ।
तरकारी खानका लागि घर नजिकै पाखोमा निउरो टिप्न गएकी उनलाई गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रका तुलबहादुर थापाले जबरजस्ती करणी गरेको उनका बाबु आशिष कुमारको आरोप छ ।
छोरीको पेटमा गर्भ रहेको कुरा करिब ६ महिनासम्म आफुहरुले समेत थाहा नपाएको उनी बताउछन् । ‘कार्तिक १७ गते छोरीले पेट दुख्यो भनि, जचाउन आमा बा अस्पताल लग्यौ, त्याहाँ भिडियो एक्स्रे गर्नुपर्छ भन्नुभयो’ कुमारले सिभिलखबरसंग भने ‘भिडियो एक्स्रे गरेपछि डाक्टरले २६ हप्ताको बच्चा छ भनेपछि हामी त छाँगाबाट खसेजस्तो भयौ ।’
भिडियो एक्स्रेमा गर्भ रहेको बिषय खुलेपछि भने छोरीले सबै कुरा आफुहरुलाई भनेको उनी बताउछन । निउरो टिप्न गएको दिन पछाडीबाट आएर ६५ बर्षका थापाले उनलाई फकाएर आफ्नै गोठमा लगी बलत्कार गरेको पिडित बालिकालाई उदृत गर्दै उनका बाबुले बताए ।
उक्त कुरा अरुलाई भने हात काट्दिने भन्दै बारम्बार आफुलाई डर धम्की दिने गरेको उनले बाबुआमा समक्ष बताएकी थिइन । ‘बैशाखमा त्यस्तो भएको रहेछ, हामीलाई त पत्तै भएन, अरुलाई भनिस भने हसियाले हात काट्दीन्छु भनेर जहिलेपनि डर देखाउदो रहेछ’ पिडित बालिकाका बाबु कुमारले भने ।
भारतको मोतिहारी जिल्ला घर भई करिब १६ बर्षदेखि गोरखा बस्दै आएका कुमारको परिवारले सो लगत्तै कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको थियो । तर प्रहरीबाट भने कार्तिक २४ गते मात्रै मुद्धा दर्ता भएको जानकारी (चलानी नं) आफुलाई दिएको उनले बताए । घटनाबारे ७ महिनासम्म कसैलाई सुइको समेत नदिई गुपचुप राख्न सफल भएका थापा जाहेरी दिएको थाहा पाए लगत्तै फरार भएका छन् ।
हाल ती बालिकाको गर्भ ३१ औं हप्तामा पुगेको बताइएको छ । २८ हप्तापछि गर्भपतन गर्न नपाइने कानूनी रुपमा प्रावधान भएपछि बालिकाको परिवार बच्चालाई जन्म दिने निर्णयमा पुगेका छन ।
घटनाबारे प्रहरीले चासो नदेखाएको भन्दै मेची महाकाली संयुक्त बुहारी आवाज गोरखाले बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक मसलीमाया थोकरको नेतृत्वमा गएको टोलीले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
यता प्रहरीले भने पिडित पक्षले दिएको जाहेरी अनुसार नैे अनुसन्धान प्रकृया अघि बढाएको दाबी गरेको छ । ‘हामी सधै पिडित पक्षसंगै हुन्छौ, यो केशमा पनि हामीले उहाँहरुले भने अनुसार नै गरिरहेका छौ’ डिएसपी बासुदेव खतिवडाले सिभिलखबरसंग भने ‘छानबिन भइरहेको छ, उहाँहरुले जाहेरीमा किटानी गरेको मान्छे फरार छ, हामी खोज्दैछौ ।’
त्यस्तै पिडित बालिकालाई भने प्रहरीकै सकृयतामा पोखराको सेफ हाउसमा पठाउने प्रकृया सुरु भएको बताइएको छ । आरोपी खोज्न प्रहरीले सक्रियता नदेखाएको कतिपयको आशंका छ । घटना लम्बिदै जाँदा १४ वर्षकै कलिलो उमेरमा गर्भवती भएकी बालिका र उनको पेटमा रहेको शिशुको भविस्य अन्यौलमा परेको छ ।