• मंगलबार, साउन १२ २०८३

गोरखाका चार पालिकामा किन हुन सकेन अस्पताल शिलन्यास ?


मंगलबार, मंसिर १६ २०७७
780
Shares

गोरखा । सोमबार जिल्लाका ८ वटा अस्पताल एकै पटक शिलन्यास गर्ने भनिए पनि ४ वटा मात्र भएका छन् । जग्गा एकिन गर्न नसक्दा चार वटा भने शिलन्यास हुन नसकेको स्रोत बताएको छ ।

सिरानचोक, धार्चे, भीमसेन थापा र आरुघाट गाउँपालिकाले आवश्यक जग्गा नीतिगत रुपमा प्रबन्ध गर्न नसक्दा सोमबार भवन शिलन्यास हुन नसकेको हो । जग्गा पहिचान भइसकेकाले केही दिन भित्र टुंग्याएर भवन निर्माण सुरु गर्ने उनीहरुको दाबी छ ।

जग्गा एकिन गरेको अजिरकोट गाउँपालिकाले सोमबार अस्पताल भवन शिलन्यास गरेको छ । एक कार्यक्रमका वीच अध्यक्ष फणिन्द्र धितालले ५ शैयाँको अस्पताल भवन शिलन्यास गरेका हुन् । अजिरकोट गाउँपालिकाले भच्चेक स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

भवन निर्माणका लागि चालु आ.बमा ७० लाख बजेट विनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए । शहिद लखन गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङको केउरेपानी डाँडामा अस्पताल निर्माण हुने भएको छ ।

सोमबार अध्यक्ष रमेश थापाले १५ शैयाँको उक्त अस्पताल शिलन्यास गरेका गरेका हुन् । १८ करोड लागत अनुमान अस्पताल भवन निर्माणका लागि चालु आब २ करोड २८ रकम विनियोजन भएको उक्त गाउँपालिका जनाएको छ । बारपाक सुलिकोट गाउँपालिकाले वडा ४ को हुँँडीफाटमा अस्पताल निर्माण सुरु गरेको छ ।

अध्यक्ष विष्णु भट्टले सोमबार अस्पतालको शिलन्यास गरेका छन् । १५ शैयाको उक्त अस्पताल निर्माणका लागि चालु आ.ब मा ४ करोड २ लाख रकम प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

चुमनुब्री गाउँपालिकाले सिर्दिबास स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ७० लाख बजेट बिनियोजन गरिएको उक्त भवनको सोमबार अध्यक्ष धनबहादुर गुरुङले शिलन्यास गरेका हुन् ।

ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले गोरखामा ८ सहित देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्न लागेको हो । गण्डकी प्रदेशमा भने ५३ वटा अस्पताल बन्ने बताइएको छ ।

अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिवास स्वास्थ्य चौकी, धार्चे गाउँपालिका माछाखोला स्वास्थ्य चौकी र भीमसेन थापा गाउँपालिकाको अश्राङ स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्न लागिएको हो ।

यसैगरी आरुघाट गाउँपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, शहिद लखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकी सिरानचोक गाउँपालिकाको जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र बारपाक सुलिकोट हुँडीफापमा अस्पताल बनाउने तयारी छ ।

सदरमुकामको गोरखा नगरपालिकामा जिल्ला अस्पताल र पालुङटार नगरपालिकामा आँपपिल सामुदायिक अस्पताल सञ्चालनमा छ । हालसम्म अस्पताल नरहेको गण्डकी गाउँपालिका भने यस पटक छुटेको छ । प्राविधिक कारण छुटेकाले त्यहाँ छिट्टै अस्पताल निर्माण सुरु गरिने स्वास्थ्य मन्त्रालय स्रोत दाबी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार