गोरखा । आज गोरखामा एकै दिन ८ वटा अस्पताल शिलन्यास हुदैछन ।
जिल्लाको अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, शहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा गरी आठ वटा अस्पताल शिलन्यासकाे तयारी भएकाे हाे ।
ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले गाेरखामा ८ सहित देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्ने तयारी सरकारले गरेकाे छ । गण्डकी प्रदेशमा भने ५३ वटा अस्पताल बन्ने बताइएकाे छ ।
आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने सरकारी अधिकारीहरुले जनाएका छन्। अस्पताल ५, १० र १५ शय्याका हुनेछन्।
सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ। अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ। अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ।