गोरखा । बहुचर्चित १२ किलो छेवेटार सडक स्तरोन्नतीका लागि तोकिएकोे म्याद सकिएको छ । निर्धारित अबधीमा काम नभएपछि थपिएको समयसिमा पनि कार्तिक ३० सकिएको एघारकिलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले जानकारी दिएको छ ।
‘त्यहाँको काम कन्टिन्यू भइरहेको छ । पहिले कोभिडका कारण टाइममा हुन सकेन,’ आयोजनाका प्रमुख राजेश यादवले भने, ‘म्याद थपको कुरा के भएको छ मलाई थाहा छैन । तर उहाँहरुले काम गरिरहनु भएको छ ।’
उक्त सडक कालोपत्रे गर्ने म्याद कार्तिक ३० गते सकिएको उनले बताए । धमाधम काम भइरहेकाले छिट्टै सम्पन्न हुने कार्यालयको विश्वास छ ।
‘अब जम्मा ४/५ दिनको काम बाँकी छ,’ यादवले भने, ‘काम नभएको भए पो म्याद थप्न/नथप्ने कुरा आउथो । अब केही दिनमा सकिहाल्छ । यस्तो बेला २/४ दिन ढिलोचाडो हुनु नौलो कुरा होइन ।’
गोरखा एप्रोपिरियट प्रालीले १ करोड ७७ लाख लागतमा १ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो ।
२०७७ बैशाख ३० गते भित्र कालोपत्रे गरिसक्नु पर्ने भएपनि लकडाउनका कारण काम नभएपछि ६ महिनाको लागि म्याद थप भएको थियो । उक्त समयसिमा पनि सकिएपछि सडक बन्ने नबन्नेमा स्थानीयले भने आशंका व्यक्त गरेका छन् ।
यस अघि पनि ठेकेदारले राम्रो काम नगरेपछि उनीहरुले पिच भत्काइदिएका थिए । त्यसपछि सर्वत्र चर्चाको विषय बनेको उक्त सडकमा आयोजना कार्यालयले नै डोजर लगाएर कमसल पिच जति सबै हटाएको थियो ।
अब बन्ने सडक मापदण्ड अनुसार निर्माण हुनेमा विश्वस्त रहन आयोजना कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ । गोरखा बारपाक सडक खण्डको १२ किलो छेवेटार सडक स्तरउन्नती नहुँदा सो क्षेत्रका स्थानीयले सास्ती भोग्दै आएका छन् ।
तोकिएको समय भित्र गुणस्तरिय सडक निर्माण नगर्ने आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । केही वर्ष अघि पनि कालोपत्रे भएको उक्त सडक एक वर्ष पनि नटिक्दै भत्किएपछि अहिले मर्मत गर्न लागिएको हो । त्यस अगाडीको खण्ड चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने कार्यालयको तयारी छ ।