• आइतबार, साउन १७ २०८३

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप


शुक्रबार, मंसिर ५ २०७७
720
Shares

काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए।

सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिए। सोही प्रतिवेदनको एक अङ्गका रुपमा दरबन्दी रहेको थियो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए। गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भई कानूनको अङ्ग बनिसकेको छ। यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन। प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसमाथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार