अमेरिकामा कोेरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्काे सफलता प्राप्त भएको छ।
फाइजर र बायो एनटेक कम्पनीले आफूहरूले कोरोनाविरुद्ध विकास गरेको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको दाबी गरेको केही दिनपछि अमेरिकाकै अर्काे कम्पनी मोडर्नाले आफूले बनाएको खोपले कोरोनाबाट झन्डै ९५ प्रतिशतसम्म सुरक्षा दिने देखिएको दाबी गरेको हो।
मोडर्नाले सोमबार विज्ञप्ति जारी गरी तेस्रो चरणको चिकित्सकीय परीक्षण क्रममा खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जानकारी दिएको हो।
फाइजर र बायो एनटेकले प्रयोग गरेकै विधि अपनाई कोरोनाविरुद्धको खोप बनाइएको कम्पनीले जनाएको छ। खोप मोलिक्युलमा आधारित छ, जसलाई ‘एमआरएनए’ वा ‘मेसेन्जर आरएनए’ का भनिन्छ।
तर भण्डारण गर्न भने मोडर्नाले बनाइरहेको खोप सजिलो रहेको बताइएको छ। मोडर्नाका अनुसार यो खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रूपमा भण्डार गर्न सकिन्छ। अर्थात् घरमै राखिने फ्रिजमा पनि यो भण्डारण गर्न सम्भव छ। तर फाइजरले बनाएको खोप भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने बताइएको छ ।
माडर्नाले बनाएको खोपको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएका थिए। जसमध्ये आधालाई २८ दिनको फरकमा २ डोज दिइएको र आधालाई उति नै समयान्तरमा प्लेसिबोको दुई सट दिइएको कम्पनीले जानकारी दिएको छ।