काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंसिर दोस्रो सातासम्म नयाँ मुख्य प्रशिक्षक पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा हुने जनाएको हो ।
शनिबार मुख्य प्रशिक्षकका लागि दाबेदार रहेका १२ जना प्रशिक्षकसँग अन्तर्वार्ता लिएपछि क्यानले नयाँ प्रशिक्षक घोषणा हुने मिति तय गरेको हो ।
क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वयमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ । मुख्य प्रशिक्षक पदका लागि क्यानले सूचना प्रकाशित गरेकोमा कूल ७२ जनाले आवेदन दिएको र त्यसबाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गर्दै दोस्रो चरणमा अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छनोट गरिएको क्यानले जनाएको छ ।
अब अन्तर्वार्ता दिएका १२ मध्ये एक जना नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षक बन्नेछन् । क्यानले अहिलेसम्म क-कसले आवेदन दिए भन्ने नाम सार्वजनिक नगरे पनि पूर्व प्रशिक्षक पुबुदु दासानायकेदेखि डेव ह्वामोर र लान्स क्लुसेनरसम्मले आवेदन दिएको चर्चा छ ।