• आइतबार, साउन १७ २०८३

पाँच वर्षपछि आज खुल्दैछ रानीपोखरीको बालगोपालेश्वर मन्दिर


सोमबार, मंसिर १ २०७७
720
Shares

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुल्दैछ। भाइटीकाका अवसरमा आज र भोली मन्दिर खुल्ला गर्न लागिएको हो।

१२ वैशाख २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि मन्दिर पूर्ण रुपमा बन्द थियो। एक महिना अघिमात्रै रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूनर्निर्माणको काम सकिएको हो।

आज र भोली मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने परंपरा छ।

कतिपयले भोली (मंगलबार) पनि भाइटीका लगाउने भएकाले आज र भोली दुबैदिन मन्दिर खुल्ला गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाको वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

मन्दिरमा दर्शनका लागि जाने भक्तजनको ज्वरो नाप्ने र मास्क समेत वितरण गर्ने महानगरपालिकाको तयारी छ। त्यसका लागि स्वयंसेवक परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार