आजबाट नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु भएको छ। विशेषगरी नेपालका नेवार समुदायले नेपाल संवतको नयाँ वर्षलाई विशेषरुपमा मनाउने गर्छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् पनि हो। यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ।
लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएका हुन्।
नेपाल संवत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ। यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना गरिएको छैन।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी यो संवत्को शुरुआत गरेका हुन्। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धर बताउँछन्।