गोरखा । कोरोना भाइरस प्रतिकार्यमा सुरुवाती चरणबाटै अग्रपंतीमा खटिएका डाक्टर विनोद दुवाडी संक्रमित भएका छन् ।
तत्कालिन समयमा गोरखा अस्पतालमा मेडिकल अधिकृतका रुपमा रहेका डा दुवाडीको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । गोरखा क्याम्पसमा पहिलो पटक गत असारमा ७० बेडको आइसोलेसन सञ्चालन गर्दा संक्रमितको उपचारमा खटिने चिकित्सकहरुको नेतृत्व लिएका उनी आइतबार आफै संक्रमित भएका छन् ।
केहिदिन अघि गोरखा अस्पतालमा कार्यरत एक जना चिकित्सक समेत संक्रमणमा परेपछि उनी कन्ट्याक्ट ट्रेसिङ्गमा परेका थिए ।
गत शुक्रबार गोरखा अस्पतालबाटै कोरोना परिक्षणका लागि स्वावको नमुना दिएका डा दुवाडीको आज कोरोना रिपोर्ट पोजेटिभ आएको हो । हाल आफु होम आइसोलेसनमै रहेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको उनले सिभिलखबरलाई बताए । उनि केहि समययता विदामा रहेको समेत बताएका छन् ।
आइतबार उनिसंगै गोरखामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक जना गोरखा अस्पतालकै स्वास्थ्यकर्मी, ४ जना अस्पतालबाटै स्वाव दिएका र अन्य ५ जना सिरानचोक गाउँपालिकाका रहेको बताइएको छ । बाँकी ३ जनाकाे भने दाेस्राे रिपाेर्ट समेत पाेजेटिभ आएकाे बताइएकाे छ ।
यसैगरी आइतबार नै गोरखासहित गण्डकी प्रदेशमा १ सय ६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा बागलुङ्गका ८ जना, लमजुङ्गमा १४ जना, मुस्ताङ्ग १३ जना, नवलपरासी पूर्वका ३० जना रहेको स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले बताए । त्यस्तै आइतबार नै थप भएकाहरुमा पर्वतमा ३ र कास्कीका ७८ जना रहेको शर्माले बताए ।
यससंगै गण्डकीमा हालसम्म संक्रमितको संख्या १० हजार ४ सय ९० जना पुगेको बताइएको छ ।