• आइतबार, साउन १७ २०८३

कोराेना भाइरसकाे त्रासले यस वर्षको तिहार पनि ‘खल्लो’


आइतबार, कार्तिक ३० २०७७
680
Shares

गोरखा । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार शुरु भएको छ । धार्मिक र सांस्कृतिक रुपले विशेष महत्व राख्ने तिहारको रौनक, यस वर्ष छैन ।

देउसी भैलोले गुञ्जायमान हुने टोलबस्ती अहिले सुनसान छन् । ‘कोरोनाबाट बच्न सकियो भने अर्को वर्ष रमाइलो गरौला । अहिले त नाचगान गर्ने परिस्थित नै रहेन,’ कालिका सांस्कृतिक कला केन्द्रका अध्यक्ष बिक्रम तमाङले भने,‘यसपाली त घरै बसेर तिहार मनाउनुको बिकल्प छैन ।’

विगतका वर्षहरुमा कार्तिक महिना सुरु भए लगतै जिल्ला सदरमुकाममा देउसी भैलोका कार्यक्रमहरु हुने गर्थे । कोरोनाका कारण विभिन्न सांस्कृतिक समुह, सामाजिक संघ संस्थाहरुले यस वर्ष कार्यक्रम आयोजना गरेका छैनन् ।

शहरमा जस्तै गाउँमा पनि तिहार खल्लो छ । दशै मान्न गाउँ पुगेर फर्केका धेरै सर्वसाधरणहरु तिहार भने आफू बसेकै ठाउँमा मनाउने तयारीमा छन् । ‘दशैमा त जोखिम मोलेरै गाउँ गइयो । अहिले झनै कोरोना बढेको छ,’ हरमटारीमा भेटिएका सिताराम लामिछानेले भने, ‘यस्तो बेला छ बच्चाबच्ची लिएर हिड्न पनि डर, तिहार त यतै मनाउने बिचार गरिएको छ ।’ बजारमा किनमेल गर्नेहरुको चहलपहल विगतको वर्षमा जस्तो नभएको व्यापारीहरुले बताएका छन् ।

भिडभाड तथा जमघट हुदा संक्रमण बढ्न सक्ने भएकाले देउसी भैलो लगायतका कार्यक्रम नगर्न प्रशासनले अनुरोध गरेको छ । कोरोना संक्रमण नियन्त्रण, रोकथाम, तथा जोखिम न्युनीकरणमा आबश्यक सहयोग तथा सहजीकरण गरिदिन प्रशासनले जिल्लामा क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सामजिक संघसंस्थ लगायतलाई अनुरोध गरिएको छ ।

त्यस्तै जिल्ला भित्र कुनै प्रकारको मेला आयोजना नगर्न, भीडभाड नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न, अनिबार्य मास्क लगाएर मात्र बाहिर निस्कन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन ।

‘तिहारको बेला भुइचम्पा, पटका तथा अतिशबाजी जस्ता बिस्पोटक पर्दाथको आयात नगर्ने, भण्डारण नगर्ने, बिक्रि नगर्न हामी सबैलाई अनुरोध गर्छौं,’ उनले भनिन, ‘प्रशासनको आग्रहलाई अटेर गरे स्थानीय प्रसासन ऐन २०२८ बमोजिम कारवाही गरिनेछ ।’

तिहारको बेला धेरै चिसो चिल्लो खानेकुरा नखान चिकित्सकहरुले अनुरोध गरेका छन् । कोरोनाले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने भएकाले त्यस्ता खानेकुरा नखान र सकेसम्म आफै बसेकै ठाउँमा हासीखुसी तिहार मनाउन उनीहरुले सुझाव दिएका छन् ।

जिल्लामा कोरोनाको संक्रमण तिब्र भइरहेको छ । दशै पछि तिब्र भएको संक्रमणदर केही दिन यता सुस्त देखिएपनि मानिसको चहलपहल बढेकाले तिहार लगतै फेरी बढ्न सक्ने विज्ञहरु बताउँछन् । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५४२ पुगेको छ ।

हालसम्म ९ हजार ६३ जनाको परीक्षण गराउँदा ८ हजार ५२१ जनाको रिर्पोेट नेगेटिभ आएको छ । ३३७ जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए । विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर जाँदा परिक्षण गराएका ५९ गोरर्खाली जनतालाई समेत कोरोना संक्रमण भएको छ ।

हालसम्म जिल्लामा २ र जिल्ला बाहिर ७ जनाको ज्यान गइसकेको छ । केही दिन अघि तिब्र रुपले संक्रमणको घटना सार्वजानिक भएपनि हिजो आज भने अलि स्थिर देखिएको छ । बुधबार २ जनामा संक्रमण भएको थियो भने बिहीबार गोरखाको रिर्पोट सार्वजानिक भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार