गोरखा । लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकिकृत वस्तीका घरहरु सुरक्षित नभएको स्थानीयले गुनासो गरेका छन् । गैरआवासिय नेपाली संघ एनआरएनले निर्माण गरेको उक्त बस्तीमा सम्झौता विपरित कमसल खालको सामाग्री प्रयोग गरिएको स्थानीय समेत रहेका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘घर बन्यो मानिसहरु बसेनन् भन्ने कुरा आउँछ । यी घरमा बृद्धबृद्धा बालबच्चा सुरक्षित साथ बस्न सक्ने अबस्था नै छैन,’ उनले भने, ‘झ्याल ढोका एक लात्तिले हान्दा नि जाला जस्तो छ । घरमा छाना राम्रो नहाल्दा चिसोले उत्तिकै छ, यस्तोमा कसरी बस्ने ?’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाको नेतृत्वमा आएको अनुगमन टोलीसँग छलफल गर्दै स्थानीय सरोकारवालाहरुले झ्याल ढोका बलियो नबनेका कारण घर असुरक्षित भएको गुनासो गरेका छन् ।
तल्लामा छाप्नका लागि काठ अभाव भएको, कतिपय स्थानीयले शौचालय बनाउन नसकेको, चिसोका कारण पानी जमेर खानेपानीको रहेको, घरको छानामा प्रयोग गरिएको जस्तापाताका कारण बढि चिसो भएको लगायतका समस्या बारे स्थानीयले ध्यानाकर्षण गराएका थिए । केयर नेपाल र स्वाँरा संघन गाउँबिकास केन्द्रको साझेदारीमा खानेपानी आयोजना निर्माण गरिएपनि चिसोका कारण जमेर धारामा पानी नआएको स्थानीयले बताएका छन् ।
‘स्थानीयहरुले आफ्नो समस्या भन्नु भएको छ । हामीले उहाँहरुसँगै बसेर विभिन्न निर्णयहरु पनि गरेका छौं,’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका भवन निर्देशक श्यामकिशोर सिंहले भने, ‘अब हामी काठमाण्डौमा गएर एनआरएनसँग स्थानीयको मागका बारेमा छलफल गछौं । उहाँहरुका धेरै समस्या हल गर्ने हाम्रो प्रयत्न रहनेछ ।’ स्थानीय वीच छलफलपछि विभिन्न ९ वटा निर्णय भएको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।
कार्यान्वयनका लागि एनआरएनए, काठ उपलब्ध गराउन वन डिभिडन कार्यालय र अन्य कामका लागि विभिन्न सरोकारवालासँग समन्वय गर्ने प्रतिवद्धता प्राधिकरणको टोलीले जनाएको छ । काठ अभावका कारण कतिपय स्थानीयले अहिलेसम्म घरको तल्ला छाप्न नपाएको भन्दै उनीहरुलाई आवश्यक काठ उपलब्ध गराउन डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने पनि निर्णय भएको सिंहले बताए ।
शौचालय निर्माण र अन्य बाँकी काम छिटो सम्पन्न गरी बस्ती हस्तान्तरण गर्न एनआरएनलाई आग्रह गरिने प्राधिकरणले बताएको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक नजिकै रहेको लाप्राकमा पहिरोले बस्ती पुरै जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सार्न गुप्सी पाखामा एकिकृत बस्ती निर्माण गरिएको हो । नेपाल सरकारको अनुमतीमा गैरआवासिय नेपाली संघ एनआरएनएले उक्त बस्ती बनाएपनि सरकारसँग भएको सम्झौता र स्थानीयलाई दिएको आश्वासन विपरित घर बनेको भूकम्प पिडितहरुको गुनासो छ ।
जसका कारण सुरु भएको ४ वर्ष वितिसक्दा समेत बस्ती निर्माण सकिएको छैन । १२ महिना चिसो हुने उक्त ठाउँमा मौमस प्रतिकुलता देखाउँदै एनआरएनले काममा ढिलाई गरिरहेको देखिन्छ । उक्त टोलीले केन्द्रबिन्दु बारपाकमा निर्माण भइरहेको भूकम्प स्मृती पार्कको अनुगमन समेत गरेको छ । जिल्ला सदरमुकाममा सरोकारवालाहरु वीच पुर्ननिर्माणको प्रगतीबारे छलफल समेत गरिएको बताइएको छ ।