• आइतबार, साउन १७ २०८३

क्षेत्र नम्बर २ को प्रदेश सभाका योजना बाँडफाँड (हेर्नुस् कुन योजनामा कति बजेट)


शुक्रबार, कार्तिक २८ २०७७
1.7K
Shares

गोरखा । जिल्लाको क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा सांसदहरुले योजना तथा बजेट बाँडफाँड गरेका छन् ।

बुधबार गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमबाट प्रदेश सभा (क) र (ख) मा सञ्चालन हुने योजना तथा कार्यक्रम टुंग्याइएको पूर्वाधार बिकास कार्यालय गोरखाले जानकारी दिएको छ । प्रदेश सभा (क) मा प्रत्यक्ष निर्वाचित सांसद हरिशरण आर्चाय र (ख) का प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा रहेका समितिको छुट्टाछुट्टै बैठकले योजना र बजेटलाई अन्तिम रुप दिएको हो ।

निर्देशिका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम मार्फत २/२ करोड रुपैयाँमा २५/२५ वटा योजना छनौट गरिएको छ । ‘छनौटको मुख्य आधार निर्देशिका नै हो,’ प्रदेश सभा (ख) का सांसद प्रकाशचन्द्र दवाडीले भने, ‘आम सर्वसाधारणको माग र आवश्यकतालाई पनि विशेष ध्यान दिएर सकेसम्म समेट्ने गरी योजना छनौट गरेका छौं ।’ योजना छनौटमा उक्त क्षेत्रका समानुपातिक सांसदहरु मनकुमारी गुरुङ र धनमायाँ लामा पोखरेलको पनि सहभागिता रहेको थियो ।

उक्त क्षेत्रमा सबै भन्दा धेरै २५ लाख देखि सबै भन्दा कम २ लाख सम्मका योजना बनाइएको छ । बारपाक सुलिकोट २ को राङरुङ कोजेंफेदी तुम्सिका मोटरबाटो निर्माण र अजिरकोट गाउँपालिका ४ को बसेल कृषि तथा पशु फर्म निर्माणको लागि २५/२५ लाख छुट्याइएको छ । यसैगरी सिरानचोक ५ को चाँदनी हरिबोले लालिगुँरास सामुदायीक भवन निर्माणको लागि २० लाख, वडा नम्बर ३ को चम्पावती मावि घेरावार निर्माणका लागि १० लाख र वडा नम्बर ८ को चिफ्लेटी उल्टे उम्रुङ सामुदायिक भवन निर्माण र वडा नम्बर ६ को नामरुङ आमा समूह भवनको आँगनमा ग्याबिन, जाली तथा डाइनिङ हल निर्माणका लागि ९/९ लाख रकम विनियोजन भएको छ ।

बारपाक सुलिकोट ३ को माझथर मावि घेराबार, अजिरकोट ४ हिमालय मावि झ्यावाको भवन निर्माण तथा घेराबार र बारपाक सुलिकोट ३ को गम्वाङ मोटबाटो निर्माणको लागि ८/८ लाख वजेट छुट्याइएको छ । यसैगरी बारपाक सुलिकोट ३ को हुवामे ठोमो छोलिङ बौद्ध समाज घर अधुरो भवन निर्माणको लागि ७ लाख रुपैयाँ दिने निर्णय भएको छ । अजिरकोट गाउँपालिका ३ पँधेरा खोल्सी खोपकेन्द्र डाँडाबारी गाडेखोला ढल तथा मोटरबाटो निर्माण, बारपाक सुलिकोट ४ को अर्चले हात्तिसुडे मन्दिर निर्माणको लागि ६/६ लाख प्रदान गरिएको छ ।

सिरानचोक ५ मा कृषि तथा पशुपालन पूर्वाधार निर्माण, वडा नम्बर ८ स्यादी खोला देखि छतिन खोला सिचाइ आयोजना कुलो निर्माण, अजिरकोट ३ को सयपत्री कृषक समूह भैसी बाख्रा गोठ निर्माण, बारपाक सुलिकोट ४ स्थित बालकन्या देवी मन्दिर निर्माण, वडा नम्बर ५ को जलकन्या देवी मावि घेराबार निर्माण, २ नम्बरको भगवती आधारभूत विद्यालय घेराबार निर्माण सिरानचोक ४ को फिरफिरे आरुबारे सामुदायिक भवन निर्माणका लागि क्रमश ५/५ लाख छुट्याइएको छ ।

अजिरकोट गाउँपालिका २ प्रभा मावि अपुन घेराबार निर्माण, बारपाक सुलिकोट ८ को पहरे मनकामना युवा क्लव खेलमैदान निर्माण, वडा नम्बर ६ को माइकोट महिला सामुदायिक भवन निर्माणको लागि भने ४/४ लाख रुपैयाँ विनियोजन गरिएको छ । बारपाक सुलिकोट ४ को शिवशक्ति युवा क्वलको ग्राउण्ड निर्माणको लागि ३ लाख प्रदान गरिएको छ । बारपाक सुलिकोट २ का पोखरी खेलमैदान निर्माण, अजिरकोट गाउँपालिका ४ को महाविर खेलमैदान तथा सामुदायीक भवन जाने गोरेटो बाटो निर्माणको लागि २ लाख रकम विनियोजन गरिएको छ ।

प्रदेश सभा (क) मा पनि ३ देखि २५ लाख सम्मका २५ योजना छनौट भएका छन् । उक्त प्रदेशमा पनि सडक, कृषि तथा जिविकोपार्जन, सामुदायीक भवन निर्माण, विद्यालय घेरावार लगायतका योजनालाई प्राथमिकता दिएको देखिन्छ । त्यहाँ समानुपातिक सांसद नरहेकाले प्रत्यक्ष निर्वाचित सांसद हरिशरण आर्चायले कार्यविधि अनुसार योजना छनौट गरेका हुन् ।

पालुङटार नगरपालिकाको ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडक र गोरखा नगरपालिका कार्यालय–सिमलगैरी नौबिसे सडक स्तरोन्नतिका लागि २५/२५ लाख रकम व्यवस्था गरिएको छ । पालुङटार २ को रातडाँडा युवा क्लव खेलमैदान निर्माणका लागि १५ लाख बिनियोजन गरिएको छ । गोरखा नगरपालिका ९ को शिखर सामुदायिक भबन निर्माण, वडा नम्बर १३ स्थित साद्दोबाटो घोरु थुम्का खेलमैदान निर्माण, वडा नम्बर १४ को अकला मन्दिर निर्माण र पालुङटार ४ को बेल्टार धारपानी, थानसिंङ लिफ्टीङ खानेपानीका लागि प्रतियोजना १० लाख छुट्याइएको छ ।

गोरखा नगरपालिका १२ को दरैटार, आहालेटार, देविटार, बाख्रा तथा सुंगुर बुंगुर खोर निर्माणका लागि ९ लाख र पालुङटार २ को महिला समुह भबन निर्माण र वडा नम्बर ३ लामागरा सामुदायिक भबन निर्माणका लागि ८/८ लाख उपलब्ध गराउने निर्णय भएको छ ।गोरखा नगरापलिका १० को चाईनिज क्याम्प देखि सिर्दीखोला (रेग्मीटोल) सडक निर्माण, पालुङटार १ को पाङ्ग्रेखोला, डुण्डुरेखोला हुँदै नौबिसे कृषि सडकको नयाँ ट्रयाक खोल्न पाँच लाख बिनियोजन गरिएको छ ।

गोरखा नगरपालिका १० को चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतीका लागि चार लाख, पालुङटार नगरपालिका १ को नेपाल प्रेस्टिकेन चर्च घेराबार निर्माण र वडा नम्बर ६ को भुमिस्थान मन्दिर गुम्बा खानेपानीका लागि तीन लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

दुबै बैठकमा पूर्वाधार बिकास कार्यालयका प्रमुख एवं निर्देशक समितिका सदस्य सविच दयाराम अधिकारी, इन्जिनियर गणेश सुवेदी, लेखा अधिकृत महेन्द्र कुमार राई, खरिदार ईश्वरबन्धु सुवेदी लगायतको उपस्थिती रहेको थियो । क्षेत्र नम्बर १ अन्र्तगतको प्रदेश सभा क र खको भने बिहीबार गर्ने कार्याललयको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार