गोरखा । कोभिड १९ को रोकथाममा प्रभावकारी कदम चाल्न गोरखाका नागरिक समाजले माग गरेका छन् । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखाका निममित्त प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेलाई ज्ञापन पत्र बुझाउदै नागरिक समाजले संक्रमण फैलिन नदिन प्रभावकारी कदम सहित ब्यवस्थित मास आइसोलेसन सञ्चालनका लागि दवाव दिएको हो ।
नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी र मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा पछिल्लो समय जिल्लामा कोरोना भाइरसको जोखिम बढेको र सरकारले समेत प्रभावकारी कदम नचालेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
यसअघि स्थानीय तह लगायत अस्पतालहरुले सञ्चालन गरेका मास क्वारेनटाइन, आइसोलेसन, होल्डिङ सेन्टर, हेल्थ डेक्स लगायत बन्द हुदा समाजमा कोरोनाको जोखिम झनै बढेको र तत्काल प्रभावकारी कदम नचाले स्थिती भयावह बन्न सक्ने नागरिक समाजको आँकलन छ ।
पत्रमा तत्काल आइसोलेसन, क्वारेनटाइन ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, होम आइसोलेसन, क्वारेनटाइन बसेका र पिसिआर परिक्षणका लागि स्वाव दिएका साथै कन्ट्राक्ट ट्रेसिङमा परेका नागरिकहरुलाई कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्डभित्र राख्ने वातावरण सृजना गर्नुपर्ने र पछिल्लो समय संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान र परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग गरिएको साझा सवालका संयोजक दुवाडीले बताए ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रजिअ पाण्डेले माग नागरिक समाजको चासो र चिन्ता स्वभाविक रहेको बताउदै तत्काल आइसोलेसन, क्वारेनटाइन सञ्चालनका लागि सरोकारवालाहरुसंग छलफल र संवाद अघि बढाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।
ज्ञापनपत्र बुझाउन महिला मानवअधिकार रक्षक सञ्जालका संयोजक सावित्री भट्ट, सोच नेपालका प्रतिनिधी मोहसिन अलि मियाँ, इन्सेक प्रतिनिधी हरिराम उप्रेती, नेपाल पत्रकार महासंघ गोरखाका सदस्य विकास मरहट्टा लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो ।
