• आइतबार, साउन १७ २०८३

आइपिएलको उपाधिका लागि आज मुम्बई र दिल्ली भिड्दै


मंगलबार, कार्तिक २५ २०७७
695
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी _२० क्रिकेटको १३ औं संस्करणको फाइनल मंगलबार राति मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

साविक विजेता मुम्बई र पहिलो पटक फाइनल पुगेको दिल्लीबीचको प्रतिस्पर्धा दुबईमा राति पौने आठ बजे सुरु हुनेछ।

लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो भएको थियो। दुई टिमबीच उपाधिका लागि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

जारी प्रतियोगितामा भने दुई टिमबीच तीन पटक प्रतिस्पर्धा भइसकेको छ। तीन वटै खेलमा मुम्बईले जित हात पारेको छ। लिग चरणका दुवै खेलमा विजयी मुम्बईले पहिलो क्वालिफायरमा पनि दिल्लीलाई हराएको थियो।

खेललाई दुई जना तीव्र गतिका बलरबीचको भिडन्तको रुपमा लिइएको छ। मुम्बईका जसप्रित बुमराह र दिल्लीका कागिसो रबाडाले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। बुमराहले २७ विकेट र रबाडाले १९ विकेट लिइसकेका छन्।

यस्तै मुम्बईका ट्रेन्ट बोल्ट र दिल्लीका एनरिच नोकियाले आफ्नो टिमको तीव्र बलिङ आक्रमणलाई सघाउ पुर्‍याउने छन्।

मुम्बईले ब्याटिङमा क्वान्टन डी कक, इशान किसन र सूर्यकुमार यादवबाट महत्वपूर्ण योगदानको अपेक्षा गरेको छ। दिल्लीको ब्याटिङको मोर्चा शिखर धवन र मार्कोस स्टोइनिसले सम्हाल्नेछन्।

मुम्बईका कप्तान रोहित शर्माले चोटका कारण यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। यता दिल्लीका रिशव पन्त पनि यो सिजन चल्न सकेका छैनन्। कप्तान श्रेयर इयरले पनि एका खेलबाहेक टिमलाई ब्याटिङमा योगदान दिएका छैनन्।

मुम्बईका हिटरद्वय हार्दिक पाण्ड्या र केइरन पोल्यान्डले टिमलाई योगदान दिइरहेका छन्।

स्पिन आक्रमणमा मुम्बईमा क्रुनाल पाण्ड्या र राहुल चाहर छन्। दिल्लीले रविचन्द्रन आस्विन र अक्षर पटेललाई खेलाउनेछ।

फाइनल प्रतिस्पर्धा मुम्बईका कप्तान रोहित शर्माका लागि २००‍औं आइपिएल खेल हुनेछ। यस्तै उनी चार हजार आइपिएल रन पूरा गर्न ८ रनबाट टाढा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार