• आइतबार, साउन १७ २०८३

राष्ट्रिय जनगणना २०७८ : नेपालको अनुमानित जनसंख्या ३ करोड, ७० लाख घरपरिवार


सोमबार, कार्तिक २४ २०७७
895
Shares

काठमाडौं । एक दशकपछि आगामी वर्ष (वि.सं. २०७८) मा हुनलागेको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ३ करोड र परिवारको संख्या ७० लाख हुने अनुमान गरिएको छ ।

जनगणना गर्ने प्रमुख निकाय तथ्यांक विभागले प्रारम्भिक अनुमानका आधारमा उक्त तथ्यांक निकालिएको हो।

सोमबार भएको एक कार्यक्रममा विभागका महानिर्देशक नविनलाल श्रेष्ठले आगामी जनगणनामा मुलुकको जनसंख्या ३ करोड र ७० लाख परिवार आउने अनुमान गरिएको बताए।

नेपालको १२औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदै छ। यस जनगणनामा ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गरिँदै छ।

यस जनगणनामा पहिलोपटक घर स्वामित्वसम्बन्धी विस्तृत तथ्यांक संकलन गर्न लागिएको श्रेष्ठले बताए। जसअनुसार घरको स्वामित्व, प्रयोग, संचरनाबारे तथ्यांक संकलन गरिनेछ।

त्यस्तै, जनगणनामा परिवारले उपभोग गरेका सुविधाहरु खानेपानी, चर्पी, खाना पकाउने इन्धन, बत्ती, टेलिभिजन, फोन, सवारीसाधनको पनि लगत राखिनेछ। महिलाको नाममा भएका घर तथा जग्गाको पनि छुट्टै तथ्यांक राखिनेछ।

जनगणनाअन्तर्गत कृषिबाहेक तलबी कामदार नराखेका तथा सरकारी निकायमा दर्ता नभएका साना घरेलु व्यवसायहरुको पनि तथ्यांक संकलन गरिनेछ।

यस जनगणनाले विदेशमा रहेका परिवारमा अनुपस्थित व्यक्तिको विवरण, आर्थिक काम, पेशा र वस्तु वा सेवाको उत्पादनअनुसारको विवरण संकलन गरिनेछ।

त्यस्तै व्यक्तिको काम गर्दाको हैसियत, संस्थागत क्षेत्र, काम नगर्नुका कारण र कामको खोजी बारेमा पनि तथ्यांक संकलन गरिनेछ।

यस जनगणनाबाट सामुदायिक प्रश्नावलीका रुपमा वडास्तरको तथ्यांक संकलन पनि गरिँदै छ।

वडा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषिजन्य उत्पादन र निकासीको अवस्था, वडाहरुको आफ्नो आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा सुविधामा पहुँच सम्बन्धी विवरणहरु र विपद्सम्बन्धी विवरण पनि संकलन गरिँदै छ।

यसपटकको जनगणना राष्ट्रिय अभियानलाई ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार