• आइतबार, साउन १७ २०८३

कोरोना कोषबाट गण्डकीले गर्‍यो २५ करोड खर्च, तर कोरोना नियन्त्रण बाहिरै


सोमबार, कार्तिक २४ २०७७
800
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा २५ करोड खर्च गरेको छ । प्रदेश सरकारले गत १२ चैतमा १५ करोडको कोरोना कोष स्थापना गर्‍यो । पछि फेरि १५ करोड थपेर ३० करोड पुर्‍याइयो ।

विभिन्न कम्पनी, आमा समूह र व्यक्तिगत रुपमा आएको सहयोगले उक्त कोष ३४ करोडभन्दा बढीको भयो ।

प्रदेश सरकारले कोषबाटै कोरोना नियन्त्रणका लागि रकम निकासा दिँदै आएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रदेश सरकारले उक्त कोष स्थापना गरेको थियो ।

कोरोना नियन्त्रण हुन नसके पनि उक्त कोषबाट २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

जिल्ला अस्पतालमा आइसोलेसन बनाउन, अस्पतालबाहिर आइसोलेसन बनाउन, क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरिद, तालिम, संक्रमितलाई खानाखाजा लगायत शीर्षकमा प्रदेश सरकारले २५ करोड २६ लाख २२ हजार ३ सय रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोषमा ३४ करोड ७० लाख ६१ हजार जम्मा भएकोमा ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ बाँकी रहेको मन्त्रालयकी सूचना अधिकारी सुशीला आचार्यले जानकारी दिइन् ।

कात्तिक महिना लागेसँगै गण्डकी प्रदेशमा दैनिक २ सयभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २२ दिनमामात्रै ३५ सय ८ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो २२ दिनमा ५५ संक्रमितको ज्यान गएको छ । पछिल्लो समय प्रदेश राजधानी पोखरा नै हटस्पट बन्दै गएको छ । प्रदेशमा दैनिक थपिनेमध्ये आधा संक्रमित पोखराकै छन् ।

५ महिना पहिला आइसियु स्थापनाका लागि १४ करोड बजेट पठाइए पनि अझै जिल्ला अस्पतालमा आइसियु सुविधा छैन ।

कोरोना संक्रमण डढेलो जसरी फैलिरहँदा २५ करोड खर्चको उपलब्धि न्यून देखिएको छ ।

कोषमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना नियन्त्रणको आन्तरिक तयारी गर्न ५० लाख रुपैयाँ दिइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयलाई कोभिड १९ रोकथाममा खटिएका जनशक्तिको होटलबासलाई ३६ लाख भुक्तानी दिइएको छ । तर ती कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

प्रदेशभरका सबै जिल्ला अस्पतालका डाक्टर र नर्सलाई आइसियु व्यवस्थापन तालिम दिन ३ लाख ७८ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ । स्वाब राख्न ५ वटा फ्रिज किन्न ३ लाख ४० हजार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई दिइएको मन्त्रालयले जनाएको छ ।

यीसहित प्रदेश सरकारले विभिन्न ६० शीर्षकमा २५ करोड रुपैयाँ खर्च गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार