काठमाडौं । विश्व चर्चित वातावरण अभियन्ता १७ वर्षकी ग्रेटा थनबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रोल गरेकी छिन्।
थनबर्गले ट्रम्पकै शैलीमा ट्रम्पलाई शान्त रहन भन्दै व्यंग्य गरेकी हुन्।
हालै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार जो बाइडेनको भन्दा कम मत ल्याउन थालेपछि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै मतगणनालाई रोक्नुपर्छ भनेर ट्वीट गरेका थिए।
उनले विभिन्न स्थानमा अदालतमै यस विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका थिए। तर प्रमाणबिनै आरोप लगाएपछि अदालतले ट्रम्पको भनाइ अस्वीकार गरेको छ।
यसबीचमा ग्रेटा थनबर्गले ट्वीटमा ट्रम्पको मतगणना रोक्नुपर्छ भन्ने ट्वीटलाई रिट्वीट गर्दै भनेकी छिन्,‘धेरै हास्यास्पद, डोनाल्ड ट्रम्पले आफ्नो रिस व्यवस्थापन गर्न सिक्नुपर्छ। त्यसपछि आफ्ना साथीसँग पुरानो चलचित्र हेर्न जानुपर्छ। चिल डोनाल्ड चिल ।’
यसअघि सन् २०१९ मा ट्रम्पले ग्रेटा निकै रिसालु स्वभावको भएको बताएका थिए। उनले ट्वीटमा भनेका थिए,‘धेरै हास्यास्पद, ग्रेटा थनबर्गले रिस व्यवस्थापन गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीसँग पुरानो चलचित्र हेर्न जानुपर्छ। चिल ग्रेटा चिल ।’
हाल भने ग्रेटाले ट्रम्पकै लेखन शैलीलाई पछ्याएर ट्रम्पको व्यंग्य गरेकी हुन्।