• आइतबार, साउन १७ २०८३

नेपाली बैंकले चीनमा जिते मुद्दा, फसेको झण्डै डेढ अर्ब फिर्ता पाउने


शुक्रबार, कार्तिक २१ २०७७
895
Shares


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनको अदालतमा लडिरहेको अन्तर्राष्ट्रिय ठेक्कको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेका छन् ।

नेपाली बैंकहरुले मुद्दा जितेको जानकारी बेइजिङबाट प्राप्त भएको बरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले बताए ।

उक्त प्रकरणमा कानूनी सेवा प्रदान गरिरहेका पण्डितले चीनको जनअदालतमा नेपाली बैंकको तर्फबाट दर्ता भएको पुनरावेदन मुद्दा जितेको बताए । पण्डितसहित बरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले यो मुद्दामा बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकको पक्षमा बहस पैरवी गरेका थिए ।

दुवै बैंकको रकम चाइना कन्स्ट्रक्सन बैंकले फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको हो।

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले जानकारी दिए।

यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो।

बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निश्क्रिय रहँदै आएको थियो।

पन्तका अनुसार बिओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर (७८ करोड ८३ लाख) को ग्यारेन्टी रकम प्रदान गरेको थियो।

त्यस्तै हिमालयन बैंकको करिब ६२ करोड रुपैयाँ फसेको थियो। मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएको थियो।

त्यसपछि सो अदालतले निवेदककै पक्षमा निर्णय गरेको थियो। पछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए।

उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो।

अगष्टमा यसको सुनुवाई भएको पन्तले बताए। अब अदालतको आदेशविपरित हारेको कम्पनी उच्च अदालत जान सक्नेछ।

तर उच्च अदालतले नै यसअघि तल्लो अदालतलाई पुनर्विचार गर्न आग्रह गरेकाले अब रकम प्राप्त हुने विश्वास लिइएको पन्तले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार