काठमाडौं । काठमाडौंको धापासीमा भएको ‘ग्याङ फाइट’मा आशिष मगरको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले २० वर्षीय रुपेश आले मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई बुधबार साँझ ५ बजे सुनसरीको धरान उपमहानगरपालिका–८ भानुचोकबाट पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार दुई समूहबीच भएको ग्याङफाइटमा आशिष मगरमाथि छुरा प्रहार गर्ने व्यक्ति रूपेश थिए।
कात्तिक १४ गते रूपेश र आशिषको समूहबीच झडप भएको थियो। उनीहरूबीच अघिल्लो दिन केटी साथीको विषयमा विवाद भएको थियो। त्यसै विषयलाई लिएर दुबै पक्षले एकअर्कालाई ‘ग्याङफाइट’ गर्न बोलाएका थिए।
टोखा नगरपालिका–५ धापासीको देवी मन्दिरमा भएको झडपमा आशिषको छातीमाथि छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएपछि त्यहाँ उपस्थित साथीहरूले उनलाई चिरायू अस्पताल लगेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
एसपी कार्कीका अनुसार छुरा प्रहार गरेपछि उनी तत्कालै धरान भागेका थिए। प्रहरीले रूपेशमाथि सोधपुछ गरी उनले प्रयोग गरेको छुरा समेत बरामद गरेको छ। प्रहरीले सो छुरा काठमाडौं महानगर–३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारीबारीबाट बरामद गरेको थियो।
त्यस्तै यस घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले कात्तिक १५ गते नै पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पठाएको छ।