काठमाडौं । कोरोना संक्रमणबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
अस्पतालको ल्याबमा फर्मासिस्ट पदमा कार्यरत २८ वर्षीय युवकको बुधबार बिहान ११ बजेतिर मृत्यु भएको हो । उनमा गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टिभएपछि उनी अस्पताल अन्तर्गत साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए । उनको आइसोलेसन केन्द्रमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
उनले आइसोलेसन केन्द्रभित्र उपचार गराउनेमध्ये यो नै पहिलो मृत्यु भएको बताए ।
डा. झाका अनुसार युवकमा अन्य कुनै रोग थिएन । कोरोना पोजेटिभ देखिएपनि त्यस्तो कुनै लक्षण पनि देखा नपरेको उनको भनाइ छ । मृतक राजविराज वडा नम्बर-२ का बासिन्दा हुन् ।