काठमाडौं । मुस्ताङको लोमान्थाङ–४ नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको पक्कि भवन शिलान्यास गरिएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधवार बिओपी भवनको शिलान्यास गरेका हुन् ।
२४ कोठाको सो भवन ६ करोड लागतमा एक बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी संभmौता भएको सशस्त्र प्रहरी प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए ।
शिलान्यास भएको भवन मुस्ताङ सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरका दुरीमा छ । समुन्द्र सहतहबाट ४ हजार २ सय मिटरको उचाईमा बन्न लागेको सो भवन चिसो मौसम अनुकूल हुनेगरी निर्माण गर्न लागिएको छ ।
०७७ जेठ १५ मा भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट स्थापना गरिएको थियो । मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सिमा अनुगमन, पिल्लर निरीक्षण र काउन्टरपार्टसँग समन्वय तथा गस्ति पट्रोल गरिरहेको छ ।
असोज बाट वैशाखसम्म भारी हिमपात हुने लोमान्थाङमा सशस्त्र प्रहरी बल प्रतिकुल मौसमका बावजुद १२ महिना नै खटिन्छ । उत्तरी सिमानामा लोमान्थाङ सहित ७ वटा विओपी स्थापना गरिएको छ । देशभर सशस्त्रका १ सय ८३ वटा बिओपी छन् ।