काठमाडौं । र्याप गीत गाएर विवादमा मुछिएपछि आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्यापर गायक भिटेन भनेर चिनिने समिर घिसिङ उच्च अदालत पाटन पुगेका छन्।
उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।
भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाई सकिएको प्रवक्ता रेग्मीले बताउँदै भने, ‘यतिबेला आदेशको पर्खाइमा छौँ ।’
केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।
यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।
एक वर्षअघि र्यापका विषयमा उनी विवादमा परेका थिए।
प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।
भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतको भनाइ छ।
‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भनेका थिए।
साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।