गोर्खा ब्रुअरीले उत्पादन गरेको कार्ल्सबर्ग बियरमा हुनुपर्ने जौको मात्रा नपुगेको भन्दै आन्तरिक राजस्व विभागले अन्तःशुल्क बढाएको छ। बियरमा ५० प्रतिशतभन्दा बढी जौको मात्रा हुनुपर्छ तर विभागले गरेको अनुगमनमा उक्त मात्र नपुगेको भेटिएको हो।
त्यही कारण विभागले कारबाहीस्वरुप अन्तःशुल्क बढाएको हो। तर गोर्खा ब्रुअरीले भने विभागको त्यो निर्देशन मानेको छैन। बियरमा प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ रहेकोमा जौको मात्रा कम देखिएपछि गोर्खा ब्रुअरीलाई प्रतिलिटर ४ सय ३० रुपैयाँ कायम गरिएको छ।
तर गोर्खा ब्रुअरीको कम्पनीले भने डेनमार्कबाट नै आएको रेसिपीअनुसार बियर उत्पादन गरेको भन्दै राजस्वको कर्मचारीहरुलाई मनाउने प्रयास गरिरहेको छ।
गोर्खा ब्रुअरीले डेनिस ब्राण्डको कार्ल्सबर्ग बियर उत्पादन गर्छ। उक्त कम्पनीले नेपालमा गोर्खा ब्रुअरीसँग सहकार्य गरेको छ। अहिले बियरमा हुनुपर्ने गुणस्तर नभएकोले गोर्खा ब्रुअरीले राजस्व विभागलाई झूटो बोलेर मनाउने प्रयास गरिरहेको आन्तरिक राजस्व विभागका एक निर्देशकले बताए।
उनले भने, ‘गोर्खा ब्रुअरीले डेनिस कम्पनीबाट नै आएको नयाँ रेसिपीअनुसार उत्पादन गरेको र त्यसरी उत्पादन गर्दा पहिलेजस्तो नदेखिएको बताएको छ। तर यो कुरा विभागले अध्ययन गरिरहेको छ।’
उनले थपे, ‘एक त यसरी उत्पादन गर्न नै पाइँदैन, बियरमा ५० प्रतिशतभन्दा बढी जौको मात्रा हुनैपर्छ। गोर्खा ब्रुअरीको बियरमा कनिका धेरै मिसाइएको भेटिएको छ । अर्को कुरा डेनिस कम्पनीले यस्तो रेसिपी दियो भन्ने कुरामा विश्वास नै गर्न सकिँदैन।’ नेपालखबर