बडादसैंको आज (सोमबार) मुख्य दिन अर्थात् विजयादशमी। मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिएर मनाइँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार टीका लगाउन साइतै खाेज्नेका लागि बिहान १० बजेर १९ मिनेटमा उत्तम छ। तर नभ्याउनेले आज दिनभर टीका ग्रहण गर्दा शुभ नै हुन्छ।
देवी विसर्जनको साइत भने बिहान १० बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ।
विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने पूर्व फर्कनुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमकाे भनाइ छ।
सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा लगाउने चलन छ। जमरालाई समृद्धिको प्रतीक मानिन्छ।
जमराले विभिन्न रोगव्याधिमा औषधिकाे कामसमेत गर्नु तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भएकाे छ।