• शनिबार, साउन १६ २०८३

पाेहाेर दशैंमा आउने भनेकाे दरौंदी लिफ्टिङको पानी याे दशैंमा पनि आएन


शनिबार, कार्तिक ८ २०७७
1.5K
Shares

गोरखा । गोरखा बजारमा दरौंदीको पानी आउने भनिएको पनि एक वर्ष बित्यो । गत वर्षको दशै अघि उपभोक्ताका घरमा पानी पु¥याउन घोषणा गरेका आयोजना कार्यालय र उपभोक्ता समिति अहिलेसम्म चुपचाप छन ।

२०७६ साउन १७ गते पत्रकार सम्मेलन दरौंदी गोरखा (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बद्री मास्केले दशै अघि नै पानी आउने दाबी गरेका थिए । तर अहिले उनको बोली फेरिएको छ ।

‘यस्तो ठूलो आयोजनामा उपभोक्ता समितिको भूमिका केही हुँदो रहेनछ’ उनले भने, ‘कर्मचारी र ठेकेदारले जे रिर्पोट दिए त्यहीँ कुरा पत्रकार सम्मेलन गरी भनेको साँचो हो । हामीले ढाँटे जस्तो भयो । पोहोर दशैमा आउने भनिएको पानी अहिलेसम्म आएको छैन ।’

दशैपछि, तिहार, मंसिर मसान्त, चैत मसान्त हुँदै असार मसान्तसम्म पानी आउने भनेका सरोकारवालाहरुले अहिले पुस मसान्त भित्र काम सक्ने भन्न थालेका छन् । समयअवधी भन्दा एक वर्ष छिटो काम सम्पन्न गर्ने घोषणा गरेको ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि ६ महिना म्याद थप गरिएको छ ।

‘बिगतमा साथीहरुले के इन्फरमेसन दिनुभयो मलाई थाहा छैन । म जेठबाट यो कार्यालयमा हाजिर भएको हुँ,’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख देवेन्द्र झाले भने,‘ असार २६ गतेसम्म यो प्रोजेक्टको म्याद रैछ । कोभिडका कारण काम रोकिएका योजनाहरु सबैको ठेक्का ६ महिना थप्ने सरकारको निर्णय अनुसार पुस मसान्तसम्मको टाइम थप भएको छ । त्यति बेलासम्म सबै काम कम्प्लिट हुन्छ ।’

अहिलेसम्म ९६ प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तिय प्रगती भइसकेको उनले बताए । उक्त आयोजनाले केही दिन अघि उपल्लो कोटसम्म पानी तानेर परीक्षण गरिसकेकोे छ ।

विद्युत सम्बन्धी समस्याका कारण लामो समय काम नहुँदा समयमै आयोजना सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीका एक इन्जिनियरले बताए ।

‘हाम्रो काम सकिएको १ वर्ष भयो, विद्युतको समस्याले गर्दा वर्ष भरी काम गर्न पाइएन,’ उनले भने, ‘हामी त उपभोक्तालाई आयोजना हस्तान्तरण गर्न आतुर छौं ।’

भौतिक काम सम्पन्न भइसकेकाले अहिले भइरहेका खानेपानी आयोजनाहरु मार्फत नै पानी वितरण गर्ने आयोजनाको तयारी छ । साना सहरी र अन्य स्थानीय खानेपानीको पाइप लाइन नपुगेको ठाउँमा भने बिस्तार हुन केही समय लाग्ने उनले बताए ।

‘हामीले सिधै उपभोक्ताको घरमा पानी पु¥याउने होइन,’ उनले भने, ‘यहाँ रहेका साना सहरी सहित १८ वटा उपभोक्ता समितिहरुको ट्याङ्कीमा पानी खसाल्ने हो । उहाँहरुकै सप्लाई सिस्टमबाट वितरण हुने भएकाले अब तपाइँको घरमा पानी पु¥याउन कुनै समस्या छैन ।’

खानेपानीको चरम समस्या भोगिरहेको सदरमुकामबासी गत वर्षको दशैमा दरौंदी लिफ्टिङको पानी आउने भयो भन्दै खुसि भएका थिए । तर यो वर्ष समेत नआएपछि उनीहरु आयोजनाले ढाँट्यो भन्दै निराश भएका छन् । ‘यो खुसीको कुरा तपाइँहरु बाँड्न पाउँदा म त एकदमै खुसी छु ।

किन भने हामीले पानी ट्याङ्कीको काम सम्पन्न गरिसक्यौं । टेस्ट पनि भइसकेको छ,’ आयोजना कार्यालयका प्रमुख झाले भने, ‘अब छिट्टै तपाइँको घरमा पानी आउँछ यसमा निराश हुनुपर्ने कुनै कारण छैन ।

६० करोड लागतमा ४ हजार ८५३ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्य सहित २०७४ असारबाट आयोजना निर्माण सुरु गरिएको हो ।

तुदी रमन जेभीले निर्माण गरेको उक्त खानेपानी आयोजनाको पानी गोरखा नगरपालिकाको वडा नम्बर ३ देखि ९ सम्मका स्थानीयले प्रयोग गर्नेछन् । २४ हजार २६३ जनसंख्या लाभाम्वित हुने आयोजना कार्यालयको दाबी छ । उक्त आयोजनाले चौबिसै घण्टा प्रति सेकेन्ट ३१ लिटर पानी तान्न सक्ने भएकाले जिल्ला सदरमुकाममा अब पानीको समस्या नहुने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार