गोरखा । आज दशैको आठाैं दिन । यस वर्षको दशै विगतको जस्तो छैन ।
काम र अध्ययनका शिलशिलामा रहेका धेरै घर फर्किका छैनन । फर्किएकाहरु पनि घरमै थुनिएका छन् । प्रशासनले पिङ नहाल्न उर्दी जारी गरेको छ । स्थानीय तहरुले घरैमा बस्न आग्रह गरिरहेका छन् ।
‘यस्तो नी के दशै, वल्लो घरबाट पल्लो घरमा टिका लगाउन जान सक्ने अबस्था छैन,’ गोरखा सदरमुकाम भेटिएका विष्णु घिमिरेले भने, ‘कोरोनाबाट बाँचियो भने अर्का वर्ष दशै मनाउँला । अहिले चित्त बुझाउनुको बिकल्प छैन ।’
सरकारले सवारी आवागमन सुचारु बनाए पनि यस वर्ष दशै मान्न गाउँ फर्कनेहरु धेरै छैन । सवारी साधनहरु खाली खाली हिडेका देखिन्छन् । पिङ हाल्न, सास्कृतिक, खेलकुद लगायतका कार्यक्रम गर्न जिल्ला प्रशासन र स्थानीय तहरुले प्रतिबन्ध लगाएका छन् । जसका कारण विगतमा जस्तो उल्लास कतै देखिदैन ।
दशैमा विशेष चहलपहल हुने गोरखा दरबार, मनकामना, लिगलिगकोट, तान्द्राङकोट लगायतका ऐतिहासिक, धार्मिक स्थलहरुमा सर्वसाधरणको लागि प्रवेश निषेध गरिएको अबस्था छ । ‘परम्परा अनुसार चलिआएको नित्य पूजा रोकेका छैनौं विगतमा जस्तै यस वर्ष पनि परम्परा अनुसार फूलपाती भने भित्र्याइएकाे छ ।’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भने,
झन्डै चार सय वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै याे बर्ष समेत फुलपाती हनुमानढाेका पठाइएकाे हाे ।
विगतमा तामझामपूर्वक फूलपाती काठमाडौं पठाइने गरे पनि यस वर्ष कोरोना महामारीका कारण सामान्य तबरले पठाइएको प्रमुख भुषालले बताए ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए ।
मनकामना मन्दिरमा पनि नित्य पुजा बाहेक अन्य कुनै कार्य बन्द छ । वडा दशैको अबसरमा त्यहाँ ठूलो भिड लाग्ने गर्थो । जिल्ला प्रशासन कार्यालय र ११ वटै स्थानीय तहहरुले आफ्ना नागरिकलाई सुरक्षित भएर दशै मनाउन आग्रह गरेका छन् ।