• शनिबार, साउन १६ २०८३

भक्तजनहरुको सहभागिता बिनै पठाइयाे गोरखाबाट हनुमानढोका फूलपाती


शुक्रबार, कार्तिक ७ २०७७
815
Shares

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

गोरखा दरबारका नायब सुब्बा चूडामणि तिवारीले बा २ झ ३३२१ नम्बरको गाडीमार्फत फूलपाती हनुमानढोका लगेकाे गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

झन्डै चार सय वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै याे बर्ष समेत फुलपाती हनुमानढाेका पठाइएकाे हाे ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काडमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याउने प्रचलन सुरु भएको हो ।

विगतमा तामझामपूर्वक फूलपाती काठमाडौं पठाइने गरे पनि यस वर्ष कोरोना महामारीका कारण सामान्य तबरले पठाइएको प्रमुख भुषालले बताए ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए ।

सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

तस्विर : हरिराम उप्रेती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार