• मंगलबार, असोज २० २०८३

कक्षा १२ को परीक्षा छठलगत्तै हुने, यस्तो छ तयारी


बुधबार, कार्तिक ५ २०७७
805
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी छठ पर्वलगत्तै सञ्चालन गर्ने तयारी गरेको छ।

देशभर होम सेन्टर (पढेकै स्कुल) मा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी बोर्डले अघि बढाएको हो। कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन्।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा सञ्चालनका कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ।

नियमित तालिकाअनुसार गएको वैशाखमै हुनपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको छ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने गरी कार्यविधि बनाइएको छ।

प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहने अर्यालले जानकारी दिए।

यस वर्ष छठ पर्व मंसिर ५ गते परेको छ। दुई साताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो।

बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गरिने जनाएको छ। परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको थियो। अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइने अर्यालले बताए।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार