काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा आज पनि थप दुई जनाको मृत्यु भएको छ।
बुटबल कोभिड अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत थप दुईजना कोरोना भाइरस संक्रमितको आज मृत्यु भएको छ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ देवीनगरका ४७ र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय पुरुष छन्। उनीहरु दुबैको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो।
असोज २४ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको गए राति १ः१० बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए। उनमा उच्च रक्तचापको समस्या थियो।
यस्तै, असोज २७ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।