• शनिबार, साउन १६ २०८३

मटर तस्करी रोक्न खोज्दा असई र जवानको हत्या, ७ जना पक्राउ


मंगलबार, कार्तिक ४ २०७७
715
Shares


काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको पत्ता लागेको छ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् ।

तीमध्ये एक जनाले प्रहरी जवान साउदको शव गाडेको स्थान देखाएका थिए। दुबैको घाँटीमा निर्मम तरिकाले खुर्पी प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् । पक्राउ परेका सबै धनगढीकै भएको एसएसपी सिंहले जानकारी दिए।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएका हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार