गोरखा । पूर्वाधार विकासको काम गर्दा आवश्यक सचेतना नअपनाएको कारण वन क्षेत्र अतिक्रमणको चपेटामा परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
शनिवार आयोजित एक कार्यक्रमका अवसरमा गोरखा नगरपालिका १३ देउरालीमा रहेको राजदेवी सामुदायीक वनका उपभोक्ताहरुले आवश्यक मापदण्ड बनाएर वन संरक्षण गर्न तीनै तहका सरकारलाई सुझाव दिएका छन् । प्रतिउत्तरमा प्रमुख अतिथि गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले आफ्नो ठाउँबाट पहल गर्ने बताएका छन् ।
उक्त विषयमा गण्डकी प्रदेश सरकार र सदन दुबै ठाउँमा छलफल चलाउने उनको प्रतिवद्धता छ । अन्र्तक्रियामा सहभागीहरुले सामुदायिक बनको सम्पुर्ण अधिकार स्थानिय तह वा बन समितीलाई दिनुपर्ने, करको दायरामा ल्याउन नहुने, संघ, प्रदेश वा स्थानिय तहले बिकासको काम गर्दा समितिसँग समन्वय गरेर मात्र काम गनुपर्ने जस्ता माग राखेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा गोरखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका मानप्रसाद घिताल, सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रका नरबहादुर गुरुङ, नेकपाका शान्त सिं बस्नेत, वडाध्यक्ष हरिबहादुर खनाल, गैसस गोरखाका हरि देवकोटाका साथै राजदेवी सामुदायिक वनका अध्यक्ष मदन भूजेलले लगायतले धारणा राखेका थिए ।