गोरखा । केही दिन यता जिल्ला सदरमुकाम र शहरी क्षेत्रमा मानिसको भिडभाड बढेको छ ।
कोरोना संक्रमण तिब्र भइरहेका बेला मानिसहरुको चहलपल बढेसँगै जोखिम झनै बढेर गएको विज्ञहरुले बताएका छन् । दशै सुरु भएसँगै गोरखा बजारमा बैंक तथा वित्तिय संस्था, दैनिक उपभोग्य सामाग्री, जिरा मसला पसल, कपडा तथा फेन्सी पसलहरुमा भिडभाड बढेको देखिन्छ । त्यहाँ स्वास्थ्य र सावधानीको कुनै उपाय अपनाइएको छैन ।
बिक्रेताले समेत मास्क नलगाई व्यापार गरिरहेको भेटिन्छ । ग्राहकहरुलाई भौतिक दुरी पनि कायम गरिएको छैन । अन्य सरकारी तथा सेवा प्रदायक कार्यालयहरुमा पनि मानिसको भीड छ । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, विद्युत प्राधिकरण लगायतका स्थानमा सेवा लिन पुगेका सर्वसाधरणलाई व्यवस्थापन गर्न नसक्दा कोरोना फैलने जोखिम धेरै देखिन्छ ।
जिल्ला प्रशासनले सार्वजानिक सूचना मार्फत आग्रह गरेपनि पालनाको लागि कडाई नगर्दा स्थिती भयाभय हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । प्रशासनको अनुरोधलाई वेवास्ता गर्दै राजनैतिक दल र अन्य संघ सस्थाले पनि शुभकामना आदानप्रदान र अन्य विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नेपाली काँग्रेसले क्रियाशिल सदस्य वितरण र शुभकामना आदानप्रदान कार्यक्रम एक साथ गरिरहेको छ । राप्रपाको जिल्ला समायोजन कार्यक्रम भर्खरै सकिएको छ । संघिय समाजवादी पार्टीले जिल्ला कार्यसमितिको बैठक गरेको छ । केही दिन अघि वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पालुङटारमा धेरै मानिस जम्मा पारी पार्टी प्रवेश समेत गराएका थिए ।
उनले जिल्लामा कार्यरत निर्माण व्यवसायी र सरोकारवाला कार्यालयका प्रतिनिधीलाई प्रशासनमा भेला पारेर भीड जम्मा गरेको कतिपयको आरोप छ । उनले गरेको काम राम्रो भएपनि समय उपयुक्त नभएको सरोकारवालाहरु बताउँछन् । नेकपा र मातहतका संघ संघठनहरुले विभिन्न ठाउँमा कार्यक्रम गरिरहेका छन् ।
कतिपय स्थानीय तहहरुले पनि आफ्ना कार्यक्रम गर्दा आवश्यक सावधानी नअपनाएको देखिन्छ । स्वास्थ्य र सुरक्षाका मापदण्डहरु उलंघन गर्ने क्रम बढ्दा जोखिम उच्च भएको छ । दशै सुरु भएसँगै सर्वसाधरण गाउँ जाने क्रम पनि सुरु भएको छ । दशैसँगै बिस्तारै ग्रामिण भेगमा पनि कोरोनाको संक्रमण फैलन सक्ने देखिएको छ ।
प्रहरी सहकारी र बिमाका कर्मचारी सहित आठ थपिए
शनिवार ९ जना कोरोना संक्रमित भएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५, २९ र २६ वर्षका पूरुषलाई संक्रमण पुष्टि भएको छ । यस अघि पनि कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा गरिएको कन्ट्याक्ट टे«सिङमा थप तिन जनाको रिर्पोट पोजेटिभ आएको हो ।
गोरखा नगरपालिका ६ की २३ वर्षीय महिला र वडा नम्बर ५ का २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । महिला सहकारी र पूरुष बिमा कम्पनीमा कार्यरत रहेको बताइएको छ । वडा नम्बर ७ घर भइ हाल धादिङमा कार्यरत ३० वर्षका एक शिक्षकको रिर्पोट पनि पोजेटिभ आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।
भारतीय सेनामा कार्यरत २ जनाको रिर्पोट पनि पोजेटिभ आएको छ । घर छुट्टीमा आएका गोरखा नगरपालिका ८ का ४२ र ११ का ३९ वर्षका पूरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु होम क्वारेन्टिनमा बसेको उनले बताए ।
उपचारका लागि चितवनको मेडिकल कलेज पुगेका अजिरकोट ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण भएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । योसँगै गोरखामा कोरोना संक्रमित हुनेको संख्या ३५५ पुगेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिएका छन ।