काठमाडौं । उदयपुरको कटारीमा गए राति जीप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ।
सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मी सडक खण्डमा पर्ने कटारी नगरपालिका १४ भदौरे भीरमा जीप दुर्घटना भएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
गौतमका अनुसार शनिबार राति करिब १ बजे बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप सडकबाट तल खस्दा दुर्घटना भएको हो। जीप सडकबाट करिब एक किलोमिटर तल पुगेको छ।
ज्यान गुमाउनेमा चार पुरुष र एक महिला छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
मृतकमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मे सार्कीको मात्रै पहिचान भएको छ।
दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरु ३०/३५ वर्ष उमेर समूहका छन्।
भैरहवाबाट दसैंको लागि गाडी रिजर्भ गरेर ओखलढुंगा घर फर्किंदै गरेका यात्रु सवार जीप अप्ठ्यारो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। जीपका यात्रु भारतबाट दसैं मान्न भैरहवा नाकाबाट स्वदेश फर्किका थिए।
घाइते तीन जनालाई कटारीमा सामान्य उपचार गरी थप उपचारको लागि विराटनगर लगिएको छ।
दुर्घटनामा गम्भीर घाइते ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र जीप चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्कालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।