गोरखा । अक्टुबर १५ अर्थात विहिबार विश्व हात धुने दिवश संसार भर मनाइएको छ । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
कोरोना महामारीका कारण यस वर्ष गोरखामा कुनै औपचारीक कार्यक्रम भने हुन सकेन । तर विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रमहरु गरिएको सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन साबुन पानीले मिचिमिची हात धुन आवश्यक रहेको संदेश सहित दिवस मनाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै घर बस्दा या अफिस तथा भीडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि साबुन पानीले हात धुन जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।
नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्वेक्षण २०१६ ले नेपालका ग्रामिण क्षेत्रमा झण्डै ७५ प्रतिशत र सहरी क्षेत्रमा झण्डै ८५ प्रतिशत घरमा साबुन पानीले हात धुने ठाउँ रहेको पाइन्छ । तर हात कतिले धुने गरेका छन् भन्ने अध्ययन भएको छैन ।