• मंगलबार, असोज २० २०८३

दसैँ बिदामा जाने सैनिकलाई हेलिकोप्टर र जहाजमा घर पुर्‍याउने


शुक्रबार, असोज ३० २०७७
705
Shares


दसैँ बिदामा जाने सैनिकलाई नेपाली सेनाले आफ्नै हेलिकोप्टर र जहाजमा घर पुर्‍याउने व्यवस्था गरेको छ।

सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो।

सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ।

घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ। विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ। नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।

बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।

सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो।

कोरोना संक्रमित सैनिकलाई राख्नका लागि सेनाले ब्यारेकैपिच्छे आइसोलेसन र क्वारेन्टिन तयार गरेको छ। यस्तै हरेक जिल्लाका ब्यारेकमा अवस्था हेरेर आइसोलेसन तयार गरेको सेनाले जनाएको छ।

कोरोना संक्रमणकै कारण सेनाले नियमित तालिम बन्द गरेको छ। सामुहिक छलफल भर्चुअल माध्यमबाट गरिरहेको छ। शान्ति मिसनमा खटिने सैनिकलाई पनि कोरोना परीक्षण गरेर र विशेष सतर्कता अपनाएर मात्रै पठाउने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार